
काठमाडौँ – बुढानीलकण्ठ नगरपालिकास्थित कपनको एक घरमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
राम मन्दिर नजिक ट्रेकिङ एजेन्सी सञ्चालकको घरमा बुधबार अक्सिजन सिलिन्डर पड्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको काठमाडौं प्रहरीका एसएसपी भरत बोहराले बताए । ‘एजेन्सी सञ्चालकले भुइँतलामा सिलिन्डर राखेको रहेछ । त्यही फ्लाटमा बस्नेहरु तीन जनाको मृत्यु भयो । सञ्चालकको परिवार माथिल्लो तलामा बस्ने भएकोले सकुशल छन्,’ उनले भने ।
शवहरु टिचिङमा लगिएको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको एसएसपी बोहोराले बताए । उनका अनुसार दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी निभाइसकिएको छ ।
राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।