चन्द्रौटा –
कपिलवस्तुको चन्द्रौटामा सराय जात्रा सम्पन्न भएको छ । विगतका वर्ष जस्तै यस वर्ष पनि शिवराज नगरपालिका वडा नं. ५ मा रहेको दुर्गा मन्दिरबाट सराय जात्रा निकालिएको थियो । २०६४ सालमा चन्द्रौटा भएको हिंसात्मक घटना भुलाउन सुरु गरिएको यो जात्रा प्रत्येक वर्ष दशैको त्रयोदशीको दिनमा निकाल्ने गरिन्छ ।
पञ्चेबाजा सहित खुकुरी, तरबार र खुँडा नचाई एकापसमा जोडिएर वाखै हो भन्दै सराय नाच गरिएको हो ।
शनिवार युवाहरू मात्र होइन वृद्धवृद्धाहरु पनि यो नाचमा सहभागी भएका थिए । कोभिड १९ कोरोनाको प्रभावका कारण विगत दुई वर्ष रोकिएको सराय जात्रा पुन निरन्तरता दिएको हो ।संस्कृतिको संरक्षण प्रवर्द्धन सँगै धार्मिक सद्भाव सहित दसैँको सराय जात्रा निकालिएको दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भिमलाल पाण्डेले बताउनु भयो । सराय जात्रा व्यवस्थित र भव्य सम्भ तवर वाट सम्पन्न भएको छ ।सराय जात्रा दुर्गा मन्दिरबाट सुरु भई काँग्रेस चोकको भित्री बाटो हुँदै कर्णेश्वरी मन्दिर पुगेर र त्यहाँबाट फूलपाती लिई मुख्य बाटो हुँदै बजार परिक्रमा गरी पुन मन्दिर परिसर हुँदै समापन भएको थियो ।
चन्द्रौटाको दुर्गा मन्दिरबाट विगत १४ वर्ष यता यो सराय नाच नाच्न लागिएको र यसै निरन्तरता दिन लागिएको स्थानीय समाजसेवी मधु पोखरेलले बताउनुभयो । परम्परा धर्म संस्कृतिको संरक्षण र धार्मिक सहिष्णुताका लागी यस वर्ष धूमधामका साथ सराय जात्रा सम्पन्न भएको उहाँले बताउनु भयो ।
सराय नाचले यस क्षेत्रमा सामाजिक , धार्मिक सद्भाव कायम राख्दै आपसी भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने हुँदा यसलाई निरन्तरता दिईएको व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो । यो नाँच अर्घाखाची,गुल्मी लगाएतका जिल्लाहरु नाच्ने गरिन्छ ।