
कपिलवस्तु –
कपिलवस्तुको शिवगढीस्थित जनस्वास्थ्य सेवा केन्द्रले मंसिर ६ गते बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।
जनस्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा शिविरको उद्देश्य, कार्यक्रम र गतिविधिका बारेमा जानकारी गराइएको छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जनस्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष विनोद लुइटेल (पाबेल) ले शिविरमा विभिन्न प्रकारका रोगहरूको उपचार, परामर्श, औषधि वितरण र आधारभूत स्वास्थ्य परीक्षण निःशुल्क रूपमा उपलब्ध गराइने जानकारी दिनुभयो । उहाँका अनुसार यो शिविरले ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्य पहुँच सुधार गर्ने लक्ष्य राखेको छ ।
जनस्वास्थ्य सेवा केन्द्रका सल्लाहकार हरि श्रेष्ठले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच नपुगेका समुदायलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
यस्तै, केन्द्रका अर्का सल्लाहकार विक्रम केसीले कार्यक्रमले स्थानीय जनताको ठूलो सहभागिता र उत्साह प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।
संविधानसभा सदस्य संघप्रसाद चौधरी (सुनिल) ले
“स्वास्थ्य क्षेत्र ग्रामीण क्षेत्रमा अझै पनि कमजोर रहेको अवस्थामा यस्ता कार्यक्रमले धेरै नागरिकलाई राहत पुर्याउँछ ।
जनस्वास्थ्य सेवा केन्द्रले गरेको यो प्रयास प्रशंसनीय छ । स्थानीय सरकार र समुदाय मिलेर यसलाई सफल बनाउनुपर्छ ।”
जनस्वास्थ्य सेवा केन्द्रका सचिव ईश्वर गिरीले “हामीले यो शिविरको तयारीमा कुनै कमी हुन नदिने प्रण गरेका छौं । जनस्वास्थ्य सेवा केन्द्रले सधैं नागरिकको स्वास्थ्यको लागि क्रियाशील रहँदै आएको छ, र यो शिविर त्यही प्रयासको एक हिस्सा हो ।”
पत्रकार सम्मेलनमा व्यवस्थापन समितिका सदस्यहरू दीपक निरौला, थानेश्वर अर्याल, बुद्धि थापा, भोजबहादुर विक र सुवास परियारको उपस्थिति रहेको थियो ।
शिविरले ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा पुर्याउँदै जनताको स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।