जानेर, बुझेर नै सर्लाही–४ रोजेको हुँ : गगन थापा


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नं. ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेश झरेको बताएका छन् । सर्लाही क्षेत्र नं. ४ मा युवाहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उनले काठमाडौं–४ मा आफ्नो प्रतिस्पर्धी नै नरहेको जिकिर गरे ।

सभापति थापाका अनुसार आफूले यसअघि तीन पटक चुनाव जितिसकेको र काठमाडौं–४ मा उम्मेदवारी दिँदा सहज अवस्था थियो । ‘मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने विषयको टुङ्गो नलागेसम्म अन्य प्रतिस्पर्धी दलहरूले उम्मेदवार नै खोज्न सकेनन्,’ उनले भने, ‘मैले काठमाडौंमा नलड्ने निर्णय गरेपछि मात्रै नयाँ र पुराना दलबाट उम्मेदवारी दर्ता भयो ।’

उनले आफू सर्लाही–४ मा उम्मेदवार बनेपछि काठमाडौंका मतदाता स्तब्ध बनेको दाबी गरे । यस सन्दर्भमा उनले काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गरे ।

‘मैले काठमाडौंका मतदातालाई पर्याप्त रूपमा चित्त बुझाउन सकेको छैन,’ उनले भने, ‘तर म आफैंले जानेर, बुझेर नै सर्लाही–४ रोजेको हुँ । म अघिल्लो पटकदेखि नै मधेश झर्न चाहन्थेँ, यस पटक आँट गरेर आएको हुँ ।’

कांग्रेसको सभापति भएपछि मधेशलाई जोड्नैपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सभापति थापाले पार्टीको भविष्य मधेशसँग गाँसिएको धारणा व्यक्त गरे । आफू मधेस नझरी कांग्रेस ठूलो पार्टी बन्न नसक्ने स्पष्ट बुझाइमा रहेको उनको भनाइ छ ।

सभापति थापाको यो भनाइलाई कांग्रेसको रणनीति र मधेश केन्द्रित राजनीतिक विस्तारसँग जोडेर हेरिएको छ ।

धेरै पढिएको

ताजा समाचार