कपिलवस्तु ।
प्रेस चौतारी नेपाल कपिलवस्तु जिल्ला समितिका सदस्य सागर सुनारका पूजनीय हजुरबुबा स्वर्गीय गोर बहादुर सुनारको असामयिक निधनप्रति शोक व्यक्त गर्दै बुधबार बुद्धभूमि नगरपालिका–५, चौरीमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।
७१ वर्षको उमेरमा निधन भएका स्व. सुनारको सम्झनामा आयोजित उक्त सभामा प्रेस चौतारी नेपालका पदाधिकारी, सदस्य, सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
शोक सभाको अध्यक्षता प्रेस चौतारी नेपाल कपिलवस्तुका अध्यक्ष बाबुराम रायमाझीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव संजिव गहतराजले गर्नुभएको थियो । सोही कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रेस चौतारी नेपाल केन्द्रीय अनुसासन विभाग सदस्य जानु पाण्डेले गर्नुभएको थियो ।
सभामा वक्ताहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो । वक्ताहरूले स्व. सुनारको सामाजिक योगदानको स्मरण गर्दै उहाँको निधनबाट परिवार तथा समाजलाई अपूरणीय क्षति पुगेको बताउनुभयो ।
अध्यक्ष रायमाझीले शोकाकुल परिवारलाई यो दुःख सहने शक्ति मिलोस् भन्ने कामना गर्दै प्रेस चौतारी नेपाल कपिलवस्तु जिल्ला समिति सदस्य सागर सुनार तथा निजको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।
त्यसैगरी, प्रमुख अतिथि तथा सञ्चालक सचिव गहतराजले स्व. सुनारको आत्माको चिरशान्तिको कामना गर्दै परिवारजनलाई धैर्यधारण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा उपस्थित सबै सहभागीहरूले स्व. गोर बहादुर सुनारको तस्बिरमा पुष्पाञ्जली अर्पण गरी श्रद्धासुमन व्यक्त गर्नुभएको थियो ।











