माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो


काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ ।

चालु आवका लागि कूल १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा आठ खर्ब एक अर्ब ३७ करोड ४९ लाख खर्च भएको छ । यस वार्षिक विनियोजनको ४०.८ प्रतिशत बराबर हो ।

चालुगत शीर्षकमा यस वर्ष ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकामा ४७.६२ प्रतिशत अर्थात् पाँच खर्ब ६२ अर्ब ३७ करोड १५ लाख बराबर खर्च भएको छ ।

पुँजीगत शीर्षकमा  चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकामा १५.६२ प्रतिशत अर्थात्  ६३ अर्ब ७२ करोड ९९ लाख खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकको माघ मसान्तसम्मको खर्च ४६.७१ प्रतिशत छ । यो शीर्षकमा  तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजन भएकोमा  एक खर्ब ७५ अर्ब २७ करोड ३५ लाख खर्च भएको छ ।

यस आवका लागि सरकारले  १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा माघ मसान्तसम्ममा ४४.४९ प्रतिशत प्रगति भएको छ । हालसम्ममा  ६ खर्ब ८२ अर्ब १६ करोड ७३ लाख बराबर राजस्व उठेको छ ।

कर राजस्वतर्फ वार्षिक लक्ष्यको ४५.२१ प्रतिशत अर्थात्  पाँच खर्ब ९९ अर्ब ३१ करोड ४६ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको ४२.५५ अर्थात्  ६५ अर्ब ७१ करोड तीन लाख बराबर असुली भएको छ ।

चालु आवमा  ५३ अर्ब ४४ करोड ६९ लाख बराबरको वैदेशिक अनुदान लिने सरकारी लक्ष्य थियो । माघ मसान्तसम्ममा १२ अर्ब ८३ करोड ७९ लाख बराबर अर्थात् वार्षिक लक्ष्यको २४.२ प्रतिशत प्राप्त भएको कार्यालयले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार