कपिलवस्तु,
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कपिलवस्तुले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री के.पी. शर्मा ओलीलाई गरिएको पक्राउलाई सत्ता समर्थित प्रतिशोध, पूर्वाग्रह र लोकतन्त्रमाथिको खुला हमला भएको ठहर गर्दै सशक्त प्रतिवादमा उत्रिने घोषणा गरेको छ।
जिल्ला कमिटी कपिलवस्तुद्वारा जारी प्रेस विज्ञप्तिमा ओलीको पक्राउलाई राजनीतिक प्रतिशोधको पराकाष्ठा भन्दै सरकारमाथि विधिको शासन कुल्चिएको, राजनीतिक असहिष्णुता प्रदर्शन गरेको र देशलाई मुटभेडको खतरनाक दिशातर्फ धकेलेको आरोप लगाइएको छ।
जिल्ला अध्यक्ष बाबुराम खनालले जारी गरेको विज्ञप्तिमा वर्तमान सरकार संविधान विपरीत, पूर्वाग्रही र दमनकारी चरित्रमा उत्रिएको उल्लेख गर्दै ओलीमाथिको कारबाही कुनै सामान्य कानुनी प्रक्रिया नभई लोकतान्त्रिक आवाज दबाउने योजनाबद्ध राजनीतिक षड्यन्त्र भएको दाबी गरिएको छ। एमाले कपिलवस्तुले सरकारको यो कदमलाई कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक शक्तिहरू र जन अधिकार माथिको नाङ्गो प्रहारको संज्ञा दिएको छ।
विज्ञप्तिमा भनिएको छ, जनमतबाट असफल र नैतिक रूपमा कमजोर बन्दै गएको सरकारले आफ्नो अस्तित्व जोगाउन दमन, गिरफ्तारी र राज्य संयन्त्रको दुरुपयोगको बाटो रोजेको छ। एमालेले यस्तो कदमले मुलुकमा राजनीतिक द्वन्द्व, अस्थिरता र टकरावलाई अझ चर्काउने चेतावनी दिएको छ।
एमाले कपिलवस्तुले ओलीसहित पक्राउ परेका सबै नेताहरूलाई तत्काल बिना शर्त रिहा गर्न, प्रतिशोधपूर्ण कारबाही बन्द गर्न र लोकतान्त्रिक अधिकार माथिको हस्तक्षेप रोकिनुपर्ने माग गरेको छ। साथै, पार्टीले नेता, कार्यकर्ता, समर्थक र आम जनतालाई दमनविरुद्ध निर्णायक संघर्षमा उत्रिन आह्वान गरेको छ।
सैबीच, केन्द्रीय सचिवालयको निर्णयअनुसार चैत १५ गते आइतबार बिहान ११ बजे कपिलवस्तुको तौलिहवास्थित जिल्ला पार्टी कार्यालयबाट विरोध कार्यक्रम सुरु गरिने भएको छ। सो कार्यक्रममा जिल्ला सदरमुकाममा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई विरोधपत्र बुझाइने जनाइएको छ । जिल्ला कमिटीले सम्पूर्ण नेता–कार्यकर्ता र समर्थकलाई पार्टीको झण्डासहित तोकिएको समय र स्थानमा उपस्थित हुन अनुरोध गरेको जिल्ला किमिटि सचिव सि.वि गहतराजले बताउनु भएको छ।
ओली पक्राउ प्रकरणपछि कपिलवस्तुमा एमालेको यो कडा र आक्रामक अभिव्यक्तिले जिल्लाको राजनीतिक तापमान उच्च बनाएको छ। सत्ता र प्रतिपक्षबीचको टकराव अझ तीव्र बन्दै जाँदा कपिलवस्तुको आन्दोलनलाई सरकार विरुद्धको प्रतिरोधको सुरुवाती संकेतका रूपमा हेरिएको छ।









