काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र अन्य ३ पार्टीको आयोजनामा आज देशव्यापी रुपमा आमहड्तालको आयोजना गरिएको छ । गत साउन २७ गते बसेको ४ कम्युनिष्ट पार्टीको विभिन्न विरोधका कार्यक्रमहरुको निरन्तरतामा आज नेपाल बन्द गरी यस चरणको विरोधका कार्यक्रमहरुको अन्त्य गर्न लागिएको हो ।
गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, ३ बुँदे सहमतिविपरीत विप्लव सहितका नेताहरूमाथि भएको पक्राउ पुर्जी, एसपीपी, नागरिकता विधेयक लगायतको विरोधमा आन्दोलनको कार्यक्रम तय गरिएको संयुक्त वक्तव्यमा उल्लेख थियो ।
जसअनुसार भदौ १ गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भदौ ४ गते देशव्यापी विरोधसभा, भदौ ६ गते देशव्यापी मसाल जुलुस र भदौ ७ गते नेपाल बन्द गर्ने कार्यक्रम तय गरिएको थियो ।