जेलमा रहेका कांग्रेस नेता आलम उम्मेदवार सिफारिस


 

रौतहट – आगामी मंसिर ४ गते हुन लागेको आमनिर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री एवं सांसद मोहम्मद अफताब आलमको नाम सर्वसम्मत भएको छ । आलम अहिले पुर्पक्षका लागि ललितपुरस्थित नख्खु कारागारमा छन् ।

 

कांग्रेसको २ नम्बर क्षेत्रीय कार्यसमितिको बिहीबार बसेको बैठकले आलमको एकल नाम सिफारिस गरेको हो । प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नम्बर २ बाट आलमको मात्र एकल नाम सिफारिस भएको क्षेत्रीय सभापति शेख फैजुल्लाहले बताए । ‘क्षेत्रीय कमिटीको बैठकमा आलमको एकल नाम आएकाले सिफारिसको निर्णय भएको हो,’ उनले भने, ‘कसैले विरोध, प्रतिवाद गरेनन् । सबैले उहाँकै नाम सर्वसम्मतबाट सिफारिस गर्न भनेर अनुरोध गरे ।’

 

आलमको नाम क्षेत्रीय समितिले शुक्रबार जिल्ला कार्यसमितिमा पठाउने जनायो । कांग्रेसको जिल्ला सभापति जितेन्द्र यादवले क्षेत्रीय समितिले आलमको नाम सिफारिस गरेको भनिए तापनि अहिलेसम्म जिल्लामा निर्णय सहितको फाइल नपठाएको बताए ।

त्यस्तै क्षेत्र नम्बर ४ बाट सांसद देवप्रसाद तिमल्सिनासहित ३ जनाको नाम सफिारिस गरिएको छ । जिउँदै मानिसलाई इट्टाभटामा हालेको आरोपमा आलम अहिले पुर्पक्षका लागि नख्खु कारागारमा छन् । आलममाथि २०६४ चैत २७ गते पहिलो संविधानसभा चुनावमा विस्फोटक पदार्थ बनाउने क्रममा घाइतेलाई जिउँदै जलाएको अभियोगमा मुद्दा चलिरहेको छ ।

आलमले आफूलाई थुनामुक्त गर्न दिएको रिट निवेदन सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी चढ्दै स्थगित हुँदै आएको छ ।

 

धेरै पढिएको

ताजा समाचार