खाद्य कम्पनीले घटायो खाने तेलको मूल्य


 

काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटाएको छ । छुट पसलमा बजार भाउभन्दा बढी मूल्य राखेको गुनासो आएपछि कम्पनीले मंगलबार लिटरमा थप १० रुपैयाँ घटाएको हो ।

कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाका अनुसार नयाँ मूल्य मंगलबारदेखी नै लागू भइसकेको छ । ‘अब सर्वसाधरणले सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५, तोरीको तेल २ सय ७५ र भटमासको तेल २ सय ४० रुपैयाँमा खरिद गर्न सक्छन्,’ थापाले भने, ‘उक्त मूल्य बजार भाउभन्दा धेरै सस्तो हो ।’

 

खाद्यले सिजी कम्पनीको तेल बिक्री गर्दै आएको छ । उक्त तेल साल्ट ट्रेडिङ कर्पोरेसनबाट खरिद गरेर बिक्री गरिएको थापाले बताए । उनले ब्रान्ड अनुसार पनि बजार मूल्य फरक भएको दाबी गरे । यद्यपी, पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ । ‘अन्र्तराष्ट्रिय बजारको मूल्य र भन्सार दर घटेपछि बजारमा सस्तो देखियो, खाद्यको पुरानै स्टक भएकोले केही महँगो थियो,’ थापाले भने, ‘मंगलबारको बिक्री मूल्य बजार भाउभन्दा सस्तो छ ।’ सहुलियत पसल सञ्चालन गर्नुअघि खाद्यले सनफ्लावर ३ सय २ रुपैयाँ, तोरी २ सय ८७ रुपैयाँ र भटमासको तेल २ सय ५२ रुपैयाँमा बिक्री गरेको थियो ।

असोज १ गतेदेखी सहुलियत पसल सञ्चालनमा आएलगत्तै प्रतिलिटर ७ रुपैयाँ घटाएर नयाँ मूल्य निर्धारण गरेको थियो । जसअनुसार सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरीमा २ सय ८० र भटमास २ सय ४५ रुपैयाँ बिक्री मूल्य थियो । मंगलबार मूल्य पुन: घटाइएको हो । त्यस्तै, मुसुरोको दालको मूल्य घटाएर १ सय ४५ रुपैयाँ तोकेको थापाले बताए । ‘चामल, तेल, गेडागुडी धेरै सस्तोमा बिक्री गरिरहेका छौं,’ उनले भने, ‘सर्वसाधरणका लागि बिहान ८ देखी बेलुका ७ बजेसम्म पसल खुल्ला राखेका छौ ।’ चाडबाडमा खाद्यसँगै साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानले पनि आफ्नो उत्पादनमा छुट दिएका छन् । ’ सहुलियत पसल असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन हुने जनाएको छ ।

 

धेरै पढिएको

ताजा समाचार