काठमाडौँ -निर्वाचन आयोगले आइतबार हुने आमनिर्वाचनको तयारी पूरा भएको जनाएको छ । एकसाथ प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउन मतपत्र र निर्वाचन सामग्रीसहित २ लाख ४६ हजार ९ सय ६० कर्मचारी र नेपाली सेना, प्रहरी, सशस्त्र र म्यादी प्रहरी गरी करिब ३ लाख जनशक्ति खटिएका छन् ।
‘मतदान केन्द्रमा पुगेका मतदान अधिकृतले सर्वपक्षीय बैठक राख्ने, मतदान केन्द्रको क्षेत्र तोक्ने, प्रचारप्रसार निषेध र शान्ति भंग गर्न निषेधका सूचना प्रकाशनको तयारी गर्नेछन्,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘मादक पदार्थ निषेध तथा हातहतियार लिएर हिँड्न वा प्रयोग गर्न नदिनेलगायत विषयमा काम सुरु भइसक्यो ।’ मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले दुई दिनभित्र मतदान केन्द्रको निर्माण गर्ने आयोगले जनाएको छ । मतदान केन्द्र लैंगिक समावेशी, अपांगता, सुत्केरी, गर्भवती, ज्येष्ठ नागरिक, बिरामी र अशक्त मतदाताका लागि सहज हुने गरी बनाउन निर्देशन दिइसकेको थपलियाले बताए ।
मतदान प्रतिशत बढाउन प्रचारात्मक कार्यक्रम चलाएको भन्दै ०७४ को निर्वाचनमा भन्दा अहिले मतदान प्रतिशत बढ्ने उनको दाबी छ । ०७४ मा ६९ प्रतिशत मतदाता सहभागी भएका थिए । ‘मतदातालाई घरघरमा गएर भोट हाल्न आउनुस् भनेर राजनीतिक दल र उम्मेदवारले भनेकै हुन्छन्, हामीले पनि विभिन्न माध्यमबाट आग्रह गरेका छौं,’ थपलियाले भने । मत बदर पनि यसपालि कम हुने उनको भनाइ छ । ‘यो वर्ष हामीले सामाजिक परिचालक, विभिन्न क्लब, सामाजिक व्यक्तिलाई परिचालन गरेर मतदाता शिक्षाको प्रचार गर्यौं,’ उनले भने, ‘विगतका भन्दा फरक र सजिला मतपत्र पनि छन् ।’
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन आयोगले सुरक्षा प्रबन्ध मिलाइसकेको आयोगले जनाएको छ । निर्वाचन बिथोल्ने र बहिष्कार गर्न खोज्ने समूहविरुद्ध कठोर कदम चाल्न सबै संयन्त्र परिचालन गरिएको थपलियाले बताए । ‘निर्वाचन बिथोल्ने, बहिष्कार गर्ने, बुथ कब्जा गर्ने, मतदातालाई मतदानको अवसरबाट वञ्चित गर्ने, डर, धाकधम्की दिनेलगायत कार्य रोक्न आवश्यक सुरक्षा रणनीतिसहित सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने । निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था गरिनेछ । कुनै मतदान केन्द्रमा विवाद भएमा ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको रिजर्भ फोर्सको व्यवस्थासमेत गरिएको उनले बताए । सुरक्षा जोखिमका आधारमा गस्ती परिचालन, क्षेत्रगत संवेदनशीलतालाई मध्यनजर गरी अधिकार सम्पन्न घुम्ती टोली परिचालन गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार निर्वाचनमा स्वदेशी र विदेशी गरी ७ हजार २ सय १९ जनाले पर्यवेक्षण गर्नेछन् । ४४ वटा स्वदेशी संस्थाबाट ७ हजार २ सय ७ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षक अनुगमनमा खटिने भएका छन् । भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त, श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको टोली आउँदै छन् । जापानको विदेश राज्यमन्त्री तकेई शुनसुकेको ५ सदस्यीय टोली पनि निर्वाचन अवलोकन गर्न नेपाल आउने भएको छ । यसबाहेक नेपालस्थित १८ वटा कूटनीतिक नियोगले पनि मतदानको दिन अवलोकन गर्न लागेको थपलियाले बताए । पर्यवेक्षकहरूले प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको ३ सय ३० वटै निर्वाचन क्षेत्रमा निर्वाचन पर्यवेक्षण गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
यस्तै, आयोगले बिहीबार मध्यरातदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्य रोक्न जिल्ला आचारसंहिता अनुगमन समिति र स्थानीय प्रशासनलाई सक्रिय बनाइएको जनाएको छ । बिहीबार रातिदेखि नै आयोगले निर्वाचन प्रचारसम्बन्धी छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठीलगायत कुनै पनि विधि, प्रक्रियाबाट मत माग्न रोक लगाइसकेको छ । सामाजिक सञ्जाल, सञ्चारमाध्यमबाट पनि मत माग्न पाइने छैन ।
१ करोड ८० लाख मतदाता
निर्वाचनका लागि पुरुष ९१ लाख ४० हजार ८ सय ६, महिला ८८ लाख ४७ हजार ५ सय ७९ र अन्य १ सय ८५ गरी कुल १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । उनीहरूले १० हजार ८ सय ९२ मतदानस्थलमा रहेका २२ हजार २ सय २७ केन्द्रबाट मतदान गर्नेछन् । त्यस्तै, १ सय ४१ अस्थायी मतदान केन्द्रबाट ४ लाख ५० हजार अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकमा मत हाल्नेछन् । निर्वाचनमा प्रतिनिधिसभाको २ हजार ४ सय १२ र प्रदेशसभाको ३ हजार २ सय २४ जना उम्मेदवार छन् ।
प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५, मधेसमा ३३ लाख ८६ हजार ६ सय २८, वाग्मतीमा ३४ लाख ७१ हजार ४ सय ९२, गण्डकीमा १८ लाख १७ हजार ५ सय ४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३७, कर्णालीमा १० लाख ८ हजार ४ सय ३ र सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ मतदाता छन् । साढे २१ लाख मतदाता विदेशमा रहेको अनुमान छ ।
०७४ को निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता रहेकामा १ करोड ५ लाख ९३ हजार ९ सय ७१ मतदाताले मतदान गरेका थिए । त्यतिबेला प्रत्यक्षमा भन्दा समानुपातिकमा धेरै मत बदर भएको थियो । प्रतिनिधिसभातर्फ समानुपातिकमा ९५ लाख ४४ हजार ७ सय ४४ मत सदर र १० लाख ४२ हजार ७ सय ७७ मत बदर भएको थियो । प्रत्यक्षमा १ करोड ४५ हजार ४ सय ७४ मत सदर भएको थियो भने ५ लाख ४८ हजार ५ सय ७० मत बदर भएको थियो । गत वैशाखको स्थानीय तह निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ कुल मतदाता रहेकामा १ करोड २५ लाख ८४ हजार मत खसेको थियो ।