कपिलवस्तु — शिवराज नगरपालिका वडा नं. ९ मा बालमैत्री शासन सम्बन्धी एक दिने कार्यशाला प्रभावकारी रूपमा सम्पन्न भएको छ। बालमैत्री वडा घोषणा भइसकेको सन्दर्भमा बालमैत्री शासन ऐन अनुसारका सूचकहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यशालामा सहजीकरण संजिव गहतराज, बिनोद केवट र दीपक खड्काले गर्नुभएको थियो। उहाँहरूले बालमैत्री शासनका मुख्य सूचकहरूबारे विस्तृत रूपमा जानकारी गराउँदै स्थानीय स्तरमै कार्यान्वयन गर्नुपर्ने जिम्मेवारीबारे सहभागीहरूलाई सचेत गराउनुभयो।
कार्यक्रममा विशेषगरी बाल अधिकार सुनिश्चितता अन्तर्गत जन्मदर्ता अनिवार्य बनाउने, बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार र शोषण अन्त्य गर्ने तथा बाल विवाह र बाल श्रम जस्ता कुप्रथाको नियन्त्रण गर्ने विषयमा जोड दिइएको थियो। त्यसैगरी शिक्षा सम्बन्धी सूचक अन्तर्गत सबै बालबालिकाको विद्यालय भर्ना र नियमित उपस्थितिको सुनिश्चितता, निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा र विद्यालयमा शौचालय, खानेपानी, खेलमैदान जस्ता बालमैत्री वातावरण निर्माणबारे छलफल गरिएको थियो।
यस्तै, स्वास्थ्य तथा पोषण क्षेत्रमा पूर्ण खोप सुनिश्चितता, कुपोषण न्यूनीकरण, सुरक्षित मातृत्व तथा बाल स्वास्थ्य सेवामा पहुँच र सरसफाइयुक्त वातावरणको आवश्यकता औंल्याइएको थियो। बाल सहभागिता अन्तर्गत बाल क्लब तथा सञ्जालको गठन र सक्रियता, स्थानीय निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता र बालमैत्री कार्यक्रमहरूमा उनीहरूको भूमिका सुनिश्चित गर्ने विषयलाई प्राथमिकता दिइएको थियो।
कार्यशालामा सुरक्षा तथा संरक्षण अन्तर्गत बाल संरक्षण समिति गठन, जोखिममा रहेका बालबालिकाको पहिचान र संरक्षण तथा आपतकालीन अवस्थामा सुरक्षा व्यवस्था मिलाउने पक्षमा समेत ध्यानाकर्षण गरिएको थियो। साथै, सामाजिक सुरक्षा अन्तर्गत अनाथ, असहाय, अपाङ्ग तथा जोखिममा रहेका बालबालिकाका लागि सहयोग र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याइयो।
यसैगरी, संस्थागत व्यवस्था तर्फ बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि आवश्यक नीति, योजना र बजेटको व्यवस्था, सम्बन्धित संयन्त्र स्थापना तथा नियमित अनुगमन र मूल्याङ्कनको महत्वबारे स्पष्ट पारिएको थियो। पूर्वाधार तथा वातावरण अन्तर्गत बालमैत्री सार्वजनिक स्थान, सुरक्षित सडक तथा स्वच्छ र हरियाली वातावरण निर्माणमा जोड दिइएको थियो।
वडा नं. ९ का बाल क्लब, किशोर–किशोरी तथा युवा क्लबका गरी २७ जना सहभागीहरूको सक्रिय सहभागितामा सम्पन्न उक्त कार्यशालाले बालमैत्री शासनको प्रभावकारी कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।











