कपिलवस्तु, बैशाख ५ — कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको आधारभूत अस्पतालमा करिब ३८ लाख रुपैयाँ बराबरको आर्थिक अनियमितता भएको आशंका सार्वजनिक भएको छ। आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणका क्रममा अस्पतालका अभिलेखमा बैंक खातामा रकम जम्मा गरिएको देखाउने १२८ वटा भौचर भेटिए पनि सम्बन्धित बैंक विवरणमा उक्त रकम नदेखिएपछि प्रकरण बाहिर आएको हो।
प्रारम्भिक अनुसन्धानमा भौचर र बैंक विवरणबीच ठूलो असमानता देखिएको छ। स्रोतका अनुसार भौचरमा प्रयोग गरिएको बैंकको छाप नै नक्कली हुनसक्ने संकेत समेत प्राप्त भएको छ, जसले घटनालाई थप गम्भीर बनाएको छ। यसले योजनाबद्ध रूपमा आर्थिक हिनामिना गरिएको हुनसक्ने आशंकालाई बल पुर्याएको छ।
यस विषयमा शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बैशाख ४ गते वडा प्रहरी कार्यालय चन्द्रौटालाई पत्राचार गर्दै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न निर्देशन दिएका छन्। नगरपालिकाले घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
यता अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र बेल्वासेले बैंक विवरणमा रकम नदेखिएको विषयमा स्पष्टिकरण माग गर्दै बैंकलाई औपचारिक पत्र पठाइएको जानकारी दिएका छन्। बैंकबाट जवाफ प्राप्त भएपछि थप अनुसन्धान प्रक्रिया अघि बढाइने उनले बताएका छन्।
घटनामा अस्पताल र बैंकका केही कर्मचारीबीच मिलेमतो हुनसक्ने आशंका समेत व्यक्त गरिएको छ। यस घटनाले स्वास्थ्य संस्थाको आर्थिक पारदर्शिता र विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा गरेको छ। अबको अनुसन्धानले वास्तविकता उजागर गर्दै दोषीलाई कानुनी दायरामा ल्याउने अपेक्षा गरिएको छ।









