
चन्द्रौटा -कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि “मेयर/उपमेयर छात्रवृत्ति कार्यक्रम” लागू गरेको छ।
यस कार्यक्रम अन्तरगर आर्थिक रूपमा कमजोर, जेहेन्दार, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, दलित, सहिद परिवार र खस आर्य समुदायका ३६ जना छात्रछात्राहरूलाई उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने भएको छ।
नगरपालिका उप सचीव पुर्ण बहादुर विश्वकर्माद्वारा हस्ताक्षरित सूचना जारी गर्दै नगरपालिकाले स्नातक तह (साधारण तथा प्राविधिक धार) को प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्ने भन्दै इच्छुक विद्यार्थीहरूलाई आवश्यक कागजातसहित आवेदन पेश आवहान गरेको छ ।
नगरपालिकाकाले साधारण धार तर्फ ३१ जना विद्यार्थीका लागि प्रति विद्यार्थी रु २० हजारका दरले ,प्राविधिक धार (ईन्जिनियरिङ्ग/चिकित्सा शास्त्र): २ जना विद्यार्थीका लागि प्रति विद्यार्थी रु ४५ हजारका दरले ,प्राविधिक धार (अन्य): ३ जना विद्यार्थीका लागि प्रति विद्यार्थी रु ३० हजारका दरले ।छात्रवृत्ति दिने नगरपालिकाले जनाएको छ ।
“मेयर तथा उपमेयर उच्च शिक्षा अध्ययन सहयोग छात्रवृत्ति कार्यान्वयन कार्यविधि, २०८१” को परिच्छेद-५ को दफा १० अनुसार छात्रवृत्तिको लागि छनौट गरिने नगर प्रमुख अजय थापाले बताउनु भयो ।
“शिक्षा नै विकासको प्रमुख आधार हो। नगरपालिकाले गरिब र जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षाको अवसर प्रदान गर्न यो कार्यक्रम सुरु गरेको हो। यसले हाम्रा विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याउने नगर प्रमुख थापाले बताउनु भयो ।
नगरपालिकाभित्र स्थायी बसोबासी भई उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्ने कार्यविधिमा उल्लेख छ ।