प्रहरी निरीक्षक शाह उत्कृष्ट प्रहरी घोषित


 

चन्द्रौटा-कपिलवस्तुको चन्द्रौटामा रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुजन शाह कार्तिक महिनाको उत्कृष्ट प्रहरी निरीक्षक घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विहीबार एक कार्यक्रम आयोजना गरी शाहलाई अपराध नियन्त्रणमा देखाएको सक्रियता र सफलताका लागि यो सम्मान प्रदान गरेको हो ।

शाहले एक महिनाभित्र क्षेत्रका विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रण गर्दै फरार अभियुक्तलाई पक्राउ गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अपराध नियन्त्रणका लागि उनले चालेका कदम र नागरिकको सुरक्षामा पुर्‍याएको योगदानलाई आधार मान्दै उनलाई यो सम्मान दिइएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार यस प्रकारको मूल्याङ्कन र सम्मानले प्रहरी संगठनभित्र सकारात्मक प्रतिस्पर्धा र जनताको सुरक्षाप्रति उत्तरदायित्व बढ्ने विश्वास लिइएको छ ।

उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका उच्च अधिकारीहरूले शाहलाई सम्मान प्रदान गर्दै भविष्यमा पनि यस्तै उत्कृष्ट कार्यसम्पादनको अपेक्षा व्यक्त गरेका थिए ।

उत्कृष्ट प्रहरी निरीक्षक घोषणा भएपछि प्रहरी निरीक्षक सुजन शाहले आफ्नो भावना व्यक्त गर्दै भने, “यो सम्मानले मलाई अझ जिम्मेवार बनाएको छ । अपराध नियन्त्रण र शान्ति सुरक्षाका लागि हाम्रो टोलीको निरन्तर प्रयासलाई नागरिकले पनि विश्वास गर्नुभएको छ, जुन हाम्रो लागि प्रेरणादायक छ ।”

उनले यो उपलब्धि आफ्नो व्यक्तिगत मात्र नभई, समग्र टोलीको मेहनतको परिणाम भएको बताउँदै अपराधमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

 

धेरै पढिएको

ताजा समाचार