
कपिलवस्तु -कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकामा ३३औं लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान आजबाट सुरु भएको छ। शिवराज नगरपालिकाको आयोजनामा तथा विभिन्न संघ-संस्थाको सहकार्य र समन्वयमा यो अभियानलाई औपचारिक रूपमा वडा नम्बर ५ चन्द्रौटा चोकमा दीप प्रज्वलन गरी शुभारम्भ गरियो।
कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले लैंगिक हिंसा समाजको गम्भीर समस्या रहेको भन्दै यसलाई रोक्न सबैले हातेमालो गर्नु आवश्यक रहेको बताउनु भयो। नगरपालिकाले महिला सशक्तीकरण, जनचेतना कार्यक्रम र हिंसाको अन्त्यका लागि निरन्तर काम गर्दै आएको बताउनु भयो ।
लैंगिक हिंसाका घटनामा कमी ल्याउन समाजमा परिवर्तन आवश्यक रहेको सहभागी बक्ताहरुले बताएका थिए ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संघ-संस्थाका प्रतिनिधि, महिला समूह, युवा क्लब र विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
१६ दिन सम्म संचालन हुने अभियान वडा वडामा विभिन्न गतिविधिहरू मार्फत कार्यक्रम संचालन हुने प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताउनु भयो ।