शिवराज –३ द्वारा ज्येष्ठ नागरिक सम्मान तथा न्यानो स्विटर वितरण


कपिलवस्तु -शिवराज नगरपालिका वडा नं. ३ ले जेष्ठ नागरिक सम्मान गरेको छ । “जेष्ठ नागरिक सम्मान, हाम्रो सभ्यताको पहिचान” भन्ने नारासहित ज्येष्ठ नागरिक सम्मान तथा न्यानो स्वेटर वितरण कार्यक्रम सम्पन्न गरेको छ। वडाभित्र ७५ वर्षभन्दा माथिका १८० जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष टेकलाल सापकोटाले जानकारी दिनुभयो।

ज्येष्ठ नागरिकप्रति सम्मान व्यक्त गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम गरिएको सापकोटाले बताउनुभयो। वडाले अघिल्लो वर्षदेखि नै ज्येष्ठ नागरिकमैत्री कार्यक्रमहरू गर्दै आएको र बैंकमा भत्ता लिन नसक्ने ज्येष्ठ नागरिकलाई घरमै भत्ता पु¥याउँदै आएको पनि उहाँले थप्नुभयो।

शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले सम्मान कार्यक्रमसँगै ज्येष्ठ नागरिकहरूको आवश्यकतालाई सम्बोधन गर्ने लक्ष्य रहेको बताउनुभयो। उहाँका अनुसार संयुक्त परिवारमा बसोबासले मानसिक रोग कम गर्ने सम्भावना रहेको भन्दै नगरपालिकाले घर–घरमा पुगेर ज्येष्ठ नागरिकहरूको उपचार गर्दै आएको जानकारी दिनुभयो।

कार्यक्रममा जेष्ठ नागरिक समाजका केन्द्रीय सहसचिव थानेश्वर खनालले नगरपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेको जानकारी दिनुभयो। परिचयपत्रले स्वास्थ्य बीमामा छुट प्रदान गर्ने र यातायात सेवा उपयोगमा पनि सहुलियत हुने बताउनुभयो।

ज्येष्ठ नागरिक समाजका नगरकोषाध्यक्ष नरबहादुर पौडेल र कार्यक्रमकी सहभागी अनिता भुसालले यस्तो कार्यले समाजमा ज्येष्ठ नागरिकप्रतिको सम्मान अभिवृद्धि हुने बताउँदै वडाको प्रशंसा गर्नुभयो। सम्मान सहित न्यानो स्वीटर पाएपछी जेष्ठ नागरिक खुसी भएका छन ।

धेरै पढिएको

ताजा समाचार