शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २०औं साधारण सभा सम्पन्न


कपिलवस्तु – शिबराज नगरपालिका वडा नं ५ स्थित शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको २०औं साधारण सभा सम्पन्न भएको छ। यस कार्यक्रमको अध्यक्षता सहकारीका अध्यक्ष विष्णु भट्टराई पोखरेलले गर्नुभएको हो। प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व वन मन्त्री तथा प्रदेश सभा सदस्य अर्जुन कुमार केसी, र विशिष्ट अतिथि वडा नं ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्जुन कुमार केसीले सहकारीका सदस्यहरुलाई उत्पादनमुखी काम र व्यवसायिकतामा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले सहकारीको माध्यमबाट ऋण लिँदा फजुल खर्च नगरी, बचत र व्यवसायमा ध्यान दिने महत्वमा जोड दिनुभयो। साथै, उहाँले समाज परिवर्तनमा सहकारीको भूमिका उल्लेख गर्दै, थोरै थोरै जम्मा गरेर बचत गर्ने बानीको विकास भएको बताउनुभयो।

वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले महिलाहरु सहकारीमार्फत आत्मनिर्भर र व्यवसायिक बन्न थालेको कुरा उल्लेख गर्दै, सहकारी संस्थाले उत्पादनमूलक काममा बढी ध्यान दिनु पर्ने आवश्यकता व्यक्त गर्नुभयो।

सहकारीका अध्यक्ष विष्णु पोखरेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै, संस्थाले सदस्यहरुलाई सहज सेवाप्रदान र सामाजिक कार्यमा सक्रिय सहभागिता जनाएको कुरा बताउनुभयो। उहाँले सहकारीको उद्देश्य केवल ऋण र बचत मात्र नभई सामाजिक कार्य र किशोरीहरूको क्षमता विकासमा पनि केन्द्रित भएको बताएका छन्।

कार्यक्रममा सहकारीका व्यवस्थापक जमुना भुसालले १ करोड १२ लाख ५ हजार बराबरको आय र व्ययको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अरनिको सहकारीका अध्यक्ष दोर्ण प्रसाद अधिकारी लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रमको संचालन संस्थाका सचिव देवी सारुले गर्नुभएको थियो।

धेरै पढिएको

ताजा समाचार