हिमपात साना किसान कृषि सहकारीको अध्यक्षमा जीवन केसी चयन


कपिलवस्तु –
हिमपात साना किसान कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः जीवन केसीलाई सर्वसहमत चयन गरिएको छ। ८ औं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनमा केसीको अध्यक्षतामा १० सदस्यीय समिती गठन गरिएको हो।

समितीमा उपाध्यक्ष इसादेबि अधिकारी र सदस्यहरूमा नारायण आर्चाय, बबिता बिष्ट, संगिता बिष्ट, टिका रावत, डुका केसी, बलकुमारी घिमिरे, ससीधर सापकोटा र संगिता बिष्ट चयन भएका छन्। साथै, लेखा समितीको संयोजक दिनेश खनाल र सदस्यहरू पदम थामि र सिता पाख्रेल चयन भएका छन्।

सहकारीका अध्यक्ष जीवन केसिको अध्यक्षता र लुम्बिनी प्रदेशका पूर्व वन मन्त्री अर्जुन कुमार केसीको प्रमुख आतिथ्यतामा सधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले सहकारीका सदस्यहरूलाई उत्पादनमुखी काम र व्यवसायिकतामा ध्यान दिन आग्रह गर्नुभयो। उहाँले सहकारीको माध्यमबाट ऋण लिँदा फजुल खर्च नगरी, बचत र व्यवसायमा लगानी गरी व्यवसायिक बन्न आग्रह गर्नुभयो। केसिले कृषि क्षेत्र र कृषकहरूको लागि आवश्यक सहयोग पु¥याउने कुरा पनि बताउनुभयो। साथै, उहाँले समाज परिवर्तनमा सहकारीको भूमिका उल्लेख गर्दै थोरै थोरै जम्मा गरेर बचत गर्ने बानीको विकास भएको बताउनुभयो।

कार्यक्रममा साना किसान कृषि सहकारी संस्था महासंघ लुम्बिनी प्रदेश अध्यक्षले सहकारीको महत्व र यसको विकास साथै कृषि सहकारीले खेल्नुपर्ने भूमिकाबारे चर्चा गर्नुभयो। उहाँले महिलाहरू सहकारीमार्फत आत्मनिर्भर र व्यवसायिक बन्न थालेको कुरा उल्लेख गर्दै सहकारी संस्थाले उत्पादनमूलक काममा बढी ध्यान दिनुपर्ने आवश्यकता व्यक्त गर्नुभयो।

सहकारीका अध्यक्ष जीवन केसिले संस्थाको प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले सदस्यहरूलाई सहज सेवाप्रदान र सामाजिक कार्यमा सक्रिय सहभागिता जनाएको बताउनुभयो। उहाँले सहकारीमार्फत व्यवसाय विस्तार र क्षमता विकासका तालिमहरू संचालन गर्दै आएको जानकारी दिनुभयो। केसिले शिवराज नगरपालिका वडा नं ५, २ र ९ नं वडा कार्यक्षेत्र रहेको हिमपात सहकारीमा हाल १०९३ सेयर सदस्य रहेको बताउनुभयो। सहकारीमा १ करोड ६५ लाख ९८ हजार सेयर पुँजी रहेको र यस वर्षमा खुद नाफा ४६ लाख रहेको जानकारी दिनुभयो।

कार्यक्रममा जेष्ठ सदस्य, उत्कृष्ट असल ऋणी तथा दुध र कृषिजन्य वस्तु बढी उत्पादन गर्ने कृषकहरूलाई सम्मान गरिएको थियो।
संस्थाका सदस्य शिशिर लामिछानेको संचालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष, विभिन्न संघ संस्थाका प्रमुख र प्रतिनिधिहरूले शुभकामना मन्तव्य दिएका थिए।

 

धेरै पढिएको

ताजा समाचार