
कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ मा यस वर्ष पनि विवाद भएको छ । विवाद उत्पन्न भएपछि राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटाका विद्यार्थीहरूले प्राप्त पुरस्कार फिर्ता गरेका छन्. प्रतियोगितामा निष्पक्षता र समान व्यवहारको अभाव भएको भन्दै विद्यार्थीहरूले असन्तोष व्यक्त गरेका हुन् । खेलकुदको उद्देश्यमा पारदर्शिता र निष्पक्षता आवश्यक रहेको भन्दै उनीहरूले न्यायको माग गरेका छन् । विवाद समाधान नहुँदा विद्यार्थीहरू निराश भएर प्रतियोगिताबाट फर्किएका छन् ।
वडा नं. ५ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय र वडा नं. १ मा रहेको नेपाल आदर्श माध्यमिक विद्यालयबीच राष्ट्रपति रनिङ शिल्डको विषयमा विवाद चुलिएको छ । प्रतियोगितामा कराते खेलमा नेपाल आदर्शलाई अंक प्रदान गरिएको तर उसु खेलमा राष्ट्रिय माविलाई अंक नदिइएको विषयले समस्या थप पेचिलो बनेको हो। आयोजकले समान मापदण्ड नअपनाएको आरोप लगाउँदै विद्यार्थीहरूले असन्तुष्टि व्यक्त गरेका छन्.
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसु खेलमा अन्य विद्यालयका प्रतिस्पर्धी सहभागी नभएपछि राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरूले सो खेलको अंक आफ्नो विद्यालयलाई दिनुपर्ने माग राखेका थिए। तर आयोजकले उक्त माग अस्वीकार गरेपछि विवाद उत्पन्न भएको हो। यसअघि कराते खेलमा नेपाल आदर्श माध्यमिक विद्यालयसहित तीन विद्यालयका खेलाडीहरूको नाम दर्ता गरिए पनि दुई विद्यालयका खेलाडीहरू सहभागी नभएपछि नेपाल आदर्शले अंक प्राप्त गरेको थियो ।
विवाद समाधान गर्न आयोजक पक्ष असफल भएको भन्दै विभिन्न पक्षबाट आलोचना भएको छ। खेलकुद जस्तो सकारात्मक गतिविधिमा देखिएको यस्तो विवादले भविष्यमा यस्ता प्रतियोगिताहरूको विश्वसनीयतामा गम्भीर असर पर्ने चेतावनी खेलकुद प्रेमीहरूले दिएका छन ्. विद्यार्थीहरूले उठाएका प्रश्नहरूले खेलकुदमा निष्पक्षता र समानताका लागि थप सचेतना आवश्यक रहेको देखाएको छ । समापन कार्यक्रमको लागि पुगेका अतिथिहरु पनि विवदा भएपछि फर्किएका छन् । यस विषयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको नियम निर्देशिका अध्ययन गरेर निर्णय गरिने नगरप्रमुख अजय थापाले बताए ।