
कपिलवस्तु, ११ पुष ।।कपिलवस्तुको व्यापारिक नगरी चन्द्रौटा स्थित वडा प्रहरी कार्यालयमा नागरिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले नागरिकहरूबाट आएका प्रश्नको जवाफ दिनुभएको थियो ।
कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले प्रहरी कार्यालय लगायतलाई पालिकाले सदैव सहयोग गर्दै आएको बताउनुभयो ।
थापाले भन्नुभयो हामीले विभिन्न समयमा प्रहरीसँग सहयोग लिँदै आएका छौं र सहयोग दिँदै आएका छौं हामी एकअर्काका परिपूरक हौँ ।
इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख घनश्याम न्यौपानेले कानुनमा टेकेर नागरिकहरू, प्रहरी, प्रशासन लगायतले काम गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो कानुनभन्दा माथि कोही छैन सबैले कानुनको पालना गर्नुपर्छ यसले समाज समुन्नत तर्फ उन्मुख हुन्छ ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुजन शाहले साउन महिनादेखि यता ३९ वटा मुद्दा दर्ता भएको बताउनुभयो । उहाँले अहिलेसम्म १४ वटा मुद्दा फर्चयोट भएको जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक शाहले ४६ जना प्रतिवादीलाई पक्राउ गरेको बताउनुभयो ।
साथै पक्राउ परेका प्रतिवादीहरू १३ वर्ष २ महिना १७ दिन कैद भुक्तान गर्नुपर्ने जानदिनुभयो । वडा प्रहरी कार्यालयले २ लाख १ हजार ३३ रुपैयाँ जरिवाना असुल गरेको छ ।
वडा प्रहरी कार्यालय साउन महिनादेखि अहिलेसम्म ६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ भने १२० वटा गोरुलाई उद्धार गरेको छ । गोरुको ओसारपसार गर्ने गिरोहलाई मुद्दा चलाइएको छ ।
नागरिक सुनवाई कार्यक्रममा महादेव पोखरेल, जमसेर मिया, रहिस शाह, विष्णुप्रसाद खतिवडा, लेखनाथ घर्ती, भूमि भट्टराई, जितेन्द्र मौर्या, गिरिप्रसाद गैरे, बलदेव लामिछाने, ढुन्डीप्रसाद अधिकारी, सुशीला खनाल, शिवराज सुवेदी लगायतले जिज्ञासा र सुझाव राख्नु भएको थियो ।
कार्यक्रममा शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरी, शिवराज नगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरू, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, व्यापार संघका प्रतिनिधि होटल व्यवसाय संघका प्रतिनिधि पत्रकारहरूको सहभागिता रहेको थियो ।
सो कार्यक्रमका सञ्चालक वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी नायब निरीक्षक नारायण कुवरले संचालन गर्नु भएको थियो ।