
कपिलवस्तु – कपिलवस्तुको विजयनगर गाउँपालिकामा बृहत सरसफाई सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाकाे आयाेजनामा सराेकारवालासँग पालिकाकाे सभाहल खडैचामा बृहत सरसफाई सम्बन्धी अन्तरक्रिया गरिएकाे हाे ।
गाउँपालिकाका वास संयाेजक अर्जुन बेल्बासेले पूर्ण सरसफाई उन्मुख दिशामा गाउँपालिका अभियानकै रुपमा अगाडी बढिरहेकाे बताउँदै गाउँपालिकाले लागु गरेकाे ‘सचेत परिवार परिचय-पत्र’ मा उल्लेख गरिएको ७ बुँदे प्रतिबद्धतालाई मध्यनजर गर्दै पूर्ण सरसफाईमा जाेड दिएकाे बताए । वास संयाेजक बेल्बासेका अनुसार गाउँपालिकामा कुल घरधुरीको संख्या ६ हजार ८ सय १० रहेका छन् । जसमध्ये ५ हजार ७४ घरधुरीमा शाैचालय निर्माण भई प्रयाेगमा रहेका छन् भने १ हजार ७ सय ३६ घरधुरीमा शाैचालय नभएको तथ्यांकमा रहेकाे छ ।
कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले गाउँपालिकाले संघीय सरकारकाे विशेष अनुदानकाे बजेटबाट करिब ६ करोडकाे लागतमा शाैचालय निर्माण भएको बताए । गाउँपालिकाकाे सहयोगमा पनि शाैचालय निर्माणकाे काम निरन्तर भइरहेको उनले बताए ।
उनले सेचेन करूणा र कालिका संस्थाकाे समन्वयमा पूर्ण सरसफाई अभियानसहित शौचालय निर्माणकाे कामसमेत भइरहेको जनाए । पूर्ण सरसफाई उन्मुख गाउँपालिका बनाउन लागि सबैकाे साझा दायित्व भएकाे बताउँदैे सबैले अनिवार्य रुपमा सचेत परिवार परिचय-पत्रमा उल्लेख गरिएको ७ बुँदे प्रतिबद्धतालाई पूरा गर्न अध्यक्ष थापाले अनुरोधसमेत गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले सरसफाई आफैबाट सुरु गरि वातावरणीय सरसफाईमा ध्यान दिनुपर्नेमा जाेड दिएकी छन् । गाउँपालिकाले चलाएको पूर्ण सरसफाई अभियानलाई सफल बजाउन सबै नागरिकले आ-आफ्नो ठाउँबाट लागेर निरन्तरता दिनुपर्ने उनले बताइन् ।
यसैगरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले पूर्ण सरसफाई अभियानमा सम्पूर्ण सराेकारवाला लाग्न आवश्यक रहेकाे बताएका छन् । उनले सरसफाई अभियान निरन्तर चलिरहने बताउँदै सरकारी, गैरसरकारी संघसंस्था लगायत विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायत सम्पूर्ण सरोकारवालाले आ-आफ्नो क्षेत्रमा आफै निरीक्षण गरेर सरसफाई, शौचालय निर्माण र प्रयोग गराउन पहल गर्नुपर्ने बताए ।
यस्तै कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक हर्ष बहादुर चन्दले पूर्ण सरसफाई सम्बन्धी सर्वसाधारणलाई जनचेतना जगाउन आवश्यक रहेकाे बताएका छन् । उनले आफूले गरेको फोहोर आफैले सफा गर्ने बानीको विकास हुनुपर्ने बताउँदै जनचेतनाका लागि समय-समयमा सराेकारवालाले सरसफाई अभियान चलाउनुपर्नेमा जाेड दिए ।
कार्यक्रममा ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवार, ५ का वडा अध्यक्ष अनवर माेहम्मद मुसलमान, शिक्षक, स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, स्थानीय लगायत सराेकारवालाकाे उपस्थितिमा भएको बृहत सरसफाई कार्यक्रमकाे सञ्चालन स्वास्थ्य शाखाका प्रमुख यज्ञ प्रसाद अधिकारीले गरेका थिए ।