नवौं चन्द्रौटा महोत्सवको तयारी अन्तिम चरणमा


केशव बेल्वासे, कपिवस्तु –
नवौं चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। कृषि, उद्योग, पर्यटन र व्यापार स्थानीय उत्पादनको प्रयोग रोजगारको मुख्य आधार भन्ने नाराका साथ व्यापार संघ कपिलवस्तुको आयोजनामा माघ ९ गते देखि २० गते सम्म सञ्चालन हुने महोत्सवको ९० प्रतिशत तयारी पुरा भएको मेला मुल आयोजक समितीका संयोजक महादेब पोखरेलले बताउनुभयो । ५ सय सदस्यीय मुल आयोजक समिती र ३० वटा उपसमितीमार्फत बाँकी कामहरू पनि तीव्र गतीमा भइरहेको पोखरेलले बताउनुभयो।

पश्चिम कपिलवस्तुका लागि महत्वपूर्ण मानिएको चन्द्रौटा महोत्सवलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्न विभिन्न तहबाट काम भइरहेको मेला मुल आयोजक समितीका सह–संयोजक जगत पौडेलले बताउनुभयो। महोत्सवलाई सफल बनाउनका लागि जनप्रतिनिधि, स्थानीय व्यापारी, उद्योगी, राजनीतिक दलका प्रतिनिधि, संचारकर्मी लगायत सबैसँग छलफल भएको पौडेलले बताउनुभयो।

महोत्सवका सांस्कृतिक संयोजक दिपक पौडेलले राष्ट्रिय तथा स्थानीय कलाकारहरूसँग सम्पर्क गरीरहेको र स्थानीय कलालाई स्टेज उपलब्ध गराइने जानकारी दिनुभयो।
मेलाका प्रवक्ता गोपाल बन्जाडेले विगत भन्दा फरक पन दिने कोशिस गरिएको बताउँदै सबैलाई महोत्सवमा उपस्थित भएर अवलोकन गर्न आग्रह गर्नुभयो।
महोत्सवका स्टल संयोजक नवराज पौडेलले स्टलमा स्थानियलाई प्राथमिकतामा राखिएको र धेरै स्टलहरू बुक भइसकेको बताउँदै विगतका वर्षभन्दा स्टलको डिजाइन फरक गरीएको जानकारी गराउनुभयो।

यस्तै, नवौं चन्द्रौटा डान्स आइडल र भ्वाइस अफ चन्द्रौटाका लागि अडिसन जारी रहेको आइडल संयोजक शिशिर पोख्रेलले बताउनुभयो। स्थानीय स्तरमा लुकेका कला र प्रतिभालाई उजागर गर्नुका साथै राष्ट्रिय स्तरसम्म पुर्याउनका लागि डान्स आइडल र भ्वाइस अफ चन्द्रौटाले महत्वपूर्ण भूमिका खेल्ने पोख्रेलले बताउनुभयो।

झाँकी व्यवस्थापन उप समिती संयोजक रडदिप खतिवडाले मेला उद्घाटनको दिन नजिकिँदै गर्दा झाँकी तथा र्यालीका लागि विभिन्न क्लब, संघसंस्था, विद्यालयहरूसँग समन्वय भइरहेको जानकारी दिनुभयो।

यस्तै, खानेपानी तथा विद्युत व्यवस्थापन उपसमिती संयोजक गोविन्द ढुंगानाले महोत्सव स्थलमा विद्युत व्यवस्थापन, खानेपानी, शौचालय तथा सरसफाइका लागि तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो।

महोत्सवमा जिल्लाभित्रका महत्वपूर्ण पर्यटकीय स्थलहरूको फोटो प्रदर्शनी, स्थानीय कृषि उपजहरूको प्रदर्शनी गरिने आयोजकले जनाएको छ। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने छ।

धेरै पढिएको

ताजा समाचार