शिवराज नगरपालिका वडा नं. १ शिवपुर स्थित स्वास्थ चौकीले आफ्ना क्षेत्रका सुत्केरी, गर्भवती र सामुदायिक स्वास्थ स्वयंसेविकाहरुलाई प्रोत्साहन स्वरुप सामग्री वितरण गरेको छ। यस अवसरमा सुत्केरी महिलाहरुलाई घ्यू र साबुन, गर्भवती महिलाहरुलाई अन्डा, र स्वयंसेविकाहरुलाई फिल्टर र जग वितरण गरिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि शिवराज नगरप्रमुख अजय थापाले सुत्केरी र गर्भवती महिलालाई पोषण र स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गर्दै, पोषणयुक्त आहार जस्तै अन्डा, घ्यू, सागसब्जी, गेडागुडी, र दूध खानाका महत्त्व बारे जानकारी दिनुभयो। उहाँले स्वच्छता र स्वास्थ्यमा ध्यान दिन पनि जोड दिनुभयो।
शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले भने, “आमाले खानामा ध्यान दिएर बच्चालाई स्वस्थ र पोषक तत्त्व दिनेछन्।” साथै, ब्यवस्थापन समितिका अध्यक्ष छन्द बहादुर जिसीले शिवपुरवासीहरूको सक्रियताले स्थानीय विकासमा ठूलो योगदान पुर्याएको बताए।
कार्यक्रमको समापनमा वडा अध्यक्ष खिम विक्रम केसीले अघिल्ला वर्षहरूमा पनि यस्ता कार्यक्रमहरू संचालन गरिएको उल्लेख गर्दै, यस वर्ष २३५ महिलाहरुलाई प्रोत्साहन सामग्री वितरण गरिएको जानकारी दिनुभयो।
कार्यक्रम शिवराज नगरप्रमुख अजय थापाको प्रमुख आथित्यतामा, वडा अध्यक्ष खिम विक्रम केसिको अध्यक्षतामा सम्पन्न भएको हो। संचालन पुनिमा खनालले गर्नुभएको थियो।









