
कपिलवस्तु – शिवराज जेसिजको ७ औं पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार चन्द्रौटामा आयोजित पद हस्तान्तरण कार्यक्रममा जेसिज २०२४ का अध्यक्ष केशव खनालले जेसिज २०२५ का नव निर्वाचित अध्यक्ष रबिन पौडेललाई पद हस्तान्तरण गरेका छन्।
एक वर्षे कार्यकालको अवधारणा नेता र राजनीतिक दलहरूले सिक्नुपर्छ : पूर्व मन्त्री केसी
कार्यक्रममा प्रमुख अतिथि पूर्व वन मन्त्री तथा प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले जेसिजलाई धनिकहरूको क्लबको रूपमा नभई गरीब र दुखीहरूको सहयोग र सामाजिक कार्यमा सक्रिय बनाउन आग्रह गर्नुभयो।
जेसिजको एक वर्षे कार्यकालको अवधारण देशका नेताहरू र राजनीतिक दलहरूले सिक्नुपर्ने बताउँदै पदमा लिप्त रहने नेपालको राजनीतिक प्रवृत्तिका बारेमा सोच्न आवश्यक रहेको उल्लेख गर्दै जेसिजको नियम र सिद्धान्तलाई अनुसरण गर्नुपर्ने परिपेक्ष्यमा युवाहरूको क्लब जेसिजले युवाहरूलाई देशमा सक्रियता प्रदान गर्ने बताउनुभयो।
त्यसैगरी, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले शिवराज जेसिजले नगरभित्र विभिन्न कार्यहरू गरेको उल्लेख गर्दै नयाँ बनेको समितिले अझ क्रियाशीलतासाथ काम गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल जेसिजका केन्द्रीय उपाध्यक्षले जेसिजको नीति नियममा रहेर काम गर्न निर्देशन दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा नगर उपप्रमुख शिवकुमारी थारु, पूर्व नगर प्रमुख नेत्रराज अधिकारी, वडा अध्यक्षहरू खिम विक्रम केसी, राम बहादुर चौधरी, टेकलाल सापकोटा, शिवराज जेसिजका संस्थापक अध्यक्ष सरोज पौडेल, जेसिजका विभिन्न शाखाका अध्यक्षहरू लगायत विभिन्न सङ्गठन र संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। जेसिजका नव निर्वाचित अध्यक्ष रबिन पौडेलले आफ्नो टिम मार्फत जेसिजलाई सक्रिय र सामाजिक कार्यमा अग्रसर बनाउने प्रतिवद्धता जनाउनुभयो।
रविन पौडेलको नेतृत्वमा शिवराज जेसीज २०२५ मा कार्यकारी उपाध्यक्षमा शिवु अधिकारी, संकर रीमाल, उपाध्यक्षमा बालकृष्ण न्यौपाने, लेखनाथ अधिकारी, मन्जु पौडेल, सद्धाम हुसेन निर्वाचनबाट चयन भएका हुन भने मनोनित मार्फत समितिको महासचिवमा कविराज अधिकारी, कोषाध्यक्ष सन्तोष पौडेल र अन्य सदस्यहरू रहेका छन ।