जेठ ०७ गते /कपिलवस्तु
रुपन्देहि जिल्ला सरकारी वकिल कार्यालयमा आफै पुगेका कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी रिहा भएका छन । जिल्ला सरकारी वकिल कार्यालयको निर्देशनमा रुपन्देही इलाका प्रहरी कार्यालय बुटवलले मंगलबार पक्राउ गरेको अध्यक्ष चौधरी बुधवार हाजिरी जमानीमा रिहा भएका हुन ।
विधुतिय अपराधसम्बन्धी कसुरमा पक्राउ परेका अध्यक्ष चौधरीलाई जिल्ला सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा रिहा गर्न प्रहरीलाई निर्देशन दिएपछि रिहा भएका हुन् । इलाका प्रहरी कार्यालय बुटवलका अनुसन्धान अधिकृत धर्मराज खत्रीका अनुसार चौधरीलाई परिवारको जिम्मा लगाउने कार्य भइरहेको छ ।
मुद्दाको मिसिल अध्ययन गर्दा थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएपछि अनुसन्धान अधिकृतलाई रिहा गर्न निर्देशन दिइएको जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।
‘थुनामा राखेर अनुसन्धान गर्नुपर्ने नदेखिएपछि अनुसन्धान जारी राख्ने गरी हाजिरी जमानीमा रिहा गर्न अनुसन्धान अधिकृतलाई निर्देशन दिइएको छ’, उनले भने, ‘अनुसन्धान अधिकृतलाई बोलाएको बखत जमानी लिएर जाने व्यक्तिले प्रतिवादीलाई उपस्थित गराउनुपर्छ ।’
अध्यक्ष चौधरीमाथी जबरजस्ती करणी मुद्दाका पीडितको गोपिनियता भंग गरेको आरोप छ । प्रहरीका अनुसार उनीविरुद्ध जेठ १ गते जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेपछि मंगलबार (जेठ ६ गते) उनी आफै इलाका प्रहरी कार्यालय बुटवलमा उपस्थित भएका थिए ।
जसपश्चात मुद्दाको मिसिल तयार गरेर सरकारी वकिल कार्यालय लगिएपछि त्यहाँ पनि बयान सकेर अध्यक्ष चौधरी हाजिरी जमानीमा रिहा भएका हुन ।









