नेकपा (एमाले) कपिलवस्तुको तेस्रो पूर्ण बैठक विविध निर्णय गर्दै सम्पन्न ।

साउन १९, कपिलवस्तु ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) कपिलवस्तु जिल्ला कमिटीको तेस्रो पूर्ण बैठक सोमबार शिवराज नगरपालिका–५, चन्द्रौटामा सम्पन्न भएको छ। बैठकले १४ वटा एजेन्डामा छलफल गरी महत्वपूर्ण निर्णयहरू पारित गरेको हो।

बैठकले पार्टी केन्द्रीय समितिको अन्तरपार्टी निर्देशन र लुम्बिनी प्रदेश कमिटीको अध्ययनलाई आधार मानी निर्णयहरू कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

पार्टीको आगामी भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनका लागि तल्लो कमिटीहरूमार्फत सुझाव संकलन गर्ने निर्णय गरिएको छ। सो सुझावहरू भदौ १० गतेभित्र केन्द्रमा पठाइने छ।

जिल्ला सचिवालय विस्तार गर्दै १४ जना सदस्य मनोनयन गरिएको छ, जसमा पूर्व जिल्ला सचिवालय सदस्य तथा पूर्व नगर कमिटी इन्चार्जहरूलाई प्राथमिकता दिइएको छ।

यस्तै, भदौ १३ र १४ गते पार्टी स्कुल विभागको समन्वयमा अगुवा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने छ। बैठकले पार्टी सदस्यताको नविकरण तथा प्रमाणीकरण प्रक्रिया सम्पन्न गर्ने, बाँकी रहेका वडा कमिटी तथा जनवर्गीय संगठनहरूको अधिवेशन आगामी असोज १० गतेभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

पार्टी कार्यालय भवन निर्माणको प्रक्रिया अघि बढाउने, अधिवेशनबाट निर्वाचित केही नेताहरूले पार्टी परित्याग गरेकाले औपचारिकरूपमा बिदा दिने, साथै १० वटै पालिकाका अध्यक्षहरूमार्फत लिखित रिपोर्ट संकलन गरिएकाे सचिव सिवी गहतराजले  जानकारी दिए ।

आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन लेखा समिति संयोजक गंगाबहादुर जिसीले बैठकमा प्रस्तुत गरेका थियो। शिवराजमा अन्य दल परित्याग गरी प्रवेश गरेका नयाँ कार्यकर्ताहरूलाई स्वागत गर्दै शिवराज कमिटीलाई धन्यवाद व्यक्त गरिएको छ। विविध विषयमा निर्णय गर्न बैठकले जिल्ला सचिवालयलाई आवश्यक अधिकार समेत प्रदान गरेको छ।

साथै, बैठकले विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरूको स्वास्थ्यलाभको कामना तथा दुःखद अवस्थाहरूमा समवेदना पनि प्रकट गरेको छ।

बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज गिरधारीलाल न्यौपाने, केन्द्रीय सदस्य शुशिलकुमार श्रीवास्तव, केन्द्रीय लेखा आयोगका उपाध्यक्ष विष्णु पन्थी, निर्वाचन आयोग सदस्य झविलाल पोखरेल, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, केन्द्रीय सल्लाहकार तथा प्रदेश सचिवालय सदस्यहरू लगायतको उपस्थिति रहेको थियो।

बैठकमा सहभागी अधिकांश वक्ताहरूले ‘मिशन ८४’ अभियानमा सबै नेता–कार्यकर्ता एकताबद्ध भई सक्रिय रूपमा खटिनुपर्नेमा जोड दिएका थिए। त्यसैगरी, बदलिँदो परिस्थितिअनुसार पार्टी गतिविधिहरूलाई समयसापेक्षरूपमा अघि बढाउनुका साथै सूचना, प्रविधि र सञ्चार क्षेत्रको प्रभावकारी प्रयोगमा जोड दिनुपर्ने सुझावहरू समेत बैठकमा उठेका थिए। बैठकको अध्यक्षता जिल्ला अध्यक्ष बाबुराम खनालले गरेकाे बैठक संचालन सचिव सि.बि गहतराजले गरेका थिए ।

 

धेरै पढिएको

ताजा समाचार