रगत दिनुहोस जिवन बचाउनुहोस्” भन्ने नारासहित शिवराज नगरपालिकामा सम्पन्न रक्तदान कार्यक्रमले मानव सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ।
सो कार्यक्रमको सफल आयोजना गरेबापत नेपाल युवा संघ, शिवराज नगर कमिटीका अध्यक्ष नारायण सापकोटालाई शिवराज नगरपालिकाले एक विशेष समारोहका बीच सम्मान गरेको छ ।
शिवराज नगरपालिकाको आधारभूत सेवा अस्पतालमा सम्पन्न कार्यक्रममा ११५ पोका रगत संकलन गरिएको थियो ।जुन आकस्मिक अवस्थामा ज्यान बचाउने अमूल्य स्रोत बन्ने छ।
कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी बुटवल (रुपन्देही) को प्राविधिक सहयोगमा सफलतापूर्वक सम्पन्न भएको थियो।
कार्यक्रममा अध्यक्ष सापकोटाले आफ्नो मन्तव्य दिँदै मानव जीवन रक्षा गर्ने यस्तो पुण्य कार्यमा साथ दिने सबै संघ-संस्था, राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, युवाहरू र नगरबासीप्रति आभार व्यक्त गर्नुभयो।
सापकोटाले भविष्यमा पनि यस्ता सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख अजय थापाले रक्तदानलाई ‘जीवनदान’ को रूपमा व्याख्या गर्दै मानव सेवाभन्दा ठूलो धर्म केही हुँदैन। यस्ता सेवामूलक कार्यमा लाग्ने जो-कोहीलाई नगरपालिकाले सधैं सम्मान र प्रोत्साहन गर्ने बताउनुभयो ।
उहाँले युवाहरूलाई समाज परिवर्तनका संवाहकको रूपमा चित्रण गर्दै यस्ता क्रियाकलापले उनीहरूलाई सामाजिक उत्तरदायित्वप्रति सजग बनाउने विश्वास व्यक्त गर्नुभयो।
अन्य वक्ताहरूले पनि मानव सेवामा आधारित कार्यक्रमहरूले सामाजिक एकता सद्भाव र सहकार्यको सन्देश दिन्छ भन्ने धारणा राख्नुभएको थियो । विशेषगरी रक्तदानले केवल अरूको जीवन बचाउने मात्र नभई स्वयं दातामा पनि सामाजिक जिम्मेवारीबोध र आत्मसन्तुष्टिको अनुभूति गराउने बताउनुभयो ।









