चन्द्रौटा, कपिलवस्तु
काठमाडौं केन्द्रित जीवनशैली र निरन्तर दल फेरबदलका कारण आलोचनामा परेका प्रकाश रजौरियाले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। तर उनको उम्मेदवारीभन्दा बढी चर्चा उनको विचारविहीन राजनीतिक सौदाबाजी को छ, जसले कपिलवस्तुका मतदातालाई फेरि एकपटक सोच्न बाध्य बनाएको छ।
रजौरियाको राजनीतिक इतिहास पल्टाउँदा कुनै स्पष्ट सिद्धान्त, निरन्तर विचार वा दीर्घकालीन प्रतिबद्धता देखिँदैन। राप्रपाको क्रेज उत्कर्षमा रहेको बेला उनी राजतन्त्रका कट्टर समर्थक बनेर मैदानमा उत्रिएका थिए। हिजो राजा चाहिन्छ भन्ने तर अहिले त्यही रजौरिया गणतन्त्रको संस्थागत सुदृढीकरणको नारा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन्।
टिकटका लागि एमालेदेखि रास्वपासम्म ‘लाइन’
स्थानीय राजनीतिक स्रोतहरूका अनुसार रजौरिया निर्वाचनको अघिल्लो दिनसम्म नेकपा एमालेमा प्रवेशको अन्तिम तयारीमा थिए। तर टिकट सुनिश्चित नहुने देखिएपछि अन्तिम समयमा पार्टी परिवर्तन गर्दै रास्वपामा प्रवेश गरी उम्मेदवारी दर्ता गराएका हुन्। यस घटनाले ‘दल होइन, टिकट मुख्य लक्ष्य’ भन्ने आरोपलाई थप बल दिएको छ।
पुरानो मत पनि जोगाउन हम्मे–हम्मे
गत निर्वाचनमा प्रदेशसभा ‘क’ का कृष्ण पौडेल र ‘ख’ का जानकी प्रसाद यादवको संगठित साथमा रजौरियाले १३ हजार ३ सय ३२ मत प्राप्त गरेका थिए। तर राजनीतिक विश्लेषकहरूका अनुसार यो मत उनको व्यक्तिगत लोकप्रियताभन्दा पनि गठबन्धन र स्थानीय शक्ति सन्तुलनको परिणाम थियो। अहिले ती संरचनाहरू कमजोर भइसकेकाले रजौरियाले गत निर्वाचनको मत समेत जोगाउन कठिन हुने संकेत देखिएको छ।
उत्तरमा नाम मात्रको लहर, दक्षिणमा शून्य प्रभाव
रास्वपाको प्रभाव कपिलवस्तु–३ को उत्तरी भेगमा सीमित देखिए पनि दक्षिणी क्षेत्रमा भने संगठन, कार्यकर्ता र जनआधार कमजोर रहेको स्थानीयको भनाइ छ। विश्लेषकहरूका अनुसार यो कमजोरीले रजौरियाको चुनावी सम्भावनामा गम्भीर असर पार्न सक्छ।
काठमाडौंबाट चुनाव लड्ने ‘मौसमी उम्मेदवार’ ?
कृष्णनगर नगरपालिका घर भएका रजौरियामाथि निर्वाचनको समय मात्र काठमाडौं छाडेर जिल्लामा देखिने आरोप पनि बारम्बार उठ्दै आएको छ। काठमाडौंमै बसेर समाजसेवा गरेको उनको दाबीलाई स्थानीयले “फेसबुक–केन्द्रित सेवा” भन्दै व्यङ्ग्य गर्न थालेका छन्। कपिलवस्तुमा उनको स्थायी उपस्थिति, संकटको बेला अग्रसरता र ठोस योगदानबारे ठोस प्रमाण नदेखिएको आरोप छ।
राजतन्त्रदेखि रास्वपासम्म : अवसरवादको स्पष्ट संकेत
हिजोसम्म राजतन्त्र पुनर्स्थापनाको खुलेआम वकालत गर्ने रजौरियाले आज त्यसको ठीक विपरीत वैचारिक ध्रुवमा उभिएको पार्टीबाट उम्मेदवारी दिनु राजनीतिक परिपक्वताको संकेतभन्दा पनि अवसरअनुसार रंग फेर्ने राजनीति को उदाहरण भएको आलोचकहरूको ठहर छ।









