लालपुर स्वास्थ्य चौकीमा नर्स शून्य, गर्भवती महिलाको स्वास्थ्य जोखिममा


कपिलवस्तु । कपिलवस्तुको पश्चिम क्षेत्र अन्तर्गत शिवराज नगरपालिका वडा नम्बर १० मा रहेको लालपुर स्वास्थ्य चौकीमा लामो समयदेखि महिला नर्स नहुँदा स्थानीय सेवाग्राहीहरू समस्यामा परेका छन्।

शिवराज नगरपालिका अन्तर्गत कार्यरत नर्सिङ कर्मचारीले उच्च शिक्षाका लागि भन्दै करिब एक महिना अगाडि नै राजीनामा दिएपछि स्वास्थ्य चौकीमा नर्सिङ सेवा पूर्ण रूपमा प्रभावित भएको स्थानीयको गुनासो छ। राजीनामा माघ १ गते २०८२ देखि लागू भए पनि हालसम्म वैकल्पिक नर्सिङ कर्मचारीको व्यवस्था नगरिएको उनीहरूको आरोप छ।

स्वास्थ्य चौकीमा महिला नर्स नहुँदा टाढा–टाढाबाट आउने गर्भवती महिलाहरू नियमित स्वास्थ्य जाँच गराउन नपाएको बताउँछन्। गर्भ जाँच, परामर्श तथा सामान्य स्वास्थ्य परीक्षणमा समेत समस्या झेल्नुपरेको उनीहरूको भनाइ छ।

त्यसैगरी, नर्सिङ कर्मचारीको अभावका कारण नियमित खोप कार्यक्रम सञ्चालन गर्नसमेत कठिनाइ भएको स्वास्थ्य चौकीका एक कर्मचारीले जानकारी दिनुभयो।

यस विषयमा स्वास्थ्य चौकी प्रमुखसँग बुझ्दा उहाँले पटक–पटक शिवराज नगरपालिकालाई जानकारी गराउँदा पनि हालसम्म नर्सिङ कर्मचारीको व्यवस्था नभएको बताउनुभयो।

स्थानीयका अनुसार मधेस क्षेत्रमा महिलाहरूले आफ्ना स्वास्थ्यसम्बन्धी समस्या पुरुष चिकित्सकभन्दा महिला स्वास्थ्यकर्मीहरूसँग सहज रूपमा व्यक्त गर्ने प्रचलन छ। यस्तो अवस्थामा महिला नर्सको अभाव हुनु स्थानीय महिलाप्रति राज्यको बेवास्ता जस्तो देखिएको उनीहरूको गुनासो छ।

स्थानीयवासीहरूले तत्काल नर्सिङ कर्मचारीको व्यवस्था गरी स्वास्थ्य सेवा सुचारु गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

धेरै पढिएको

ताजा समाचार