शिवराजमा कांग्रेसको चुनावी तयारी तीव्र : नगर सभापति पोखरेलको नेतृत्वमा प्रचारप्रसार समिति गठन


शिवराज (कपिलवस्तु) ।
नेपाली कांग्रेस शिवराज नगर समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै विशेष रणनीतिक छलफल तथा भेला सम्पन्न गरेको छ। शिवराज नगरमा आयोजित एक कार्यक्रमका बीच चुनावमा पार्टीलाई विजयी गराउने उद्देश्यसहित नगरस्तरीय प्रचारप्रसार समिति गठन गरिएको हो।

निर्वाचन केन्द्रित उक्त विशेष छलफलले शिवराज नगरभित्रका चुनावी गतिविधिहरूलाई थप प्रभावकारी र सशक्त बनाउन नगर सभापति मधुसुदन पोखरेलको नेतृत्वमा ‘नगरस्तरीय प्रचारप्रसार समिति’ गठन गर्ने निर्णय गरेको छ। नवगठित समितिले घरदैलो अभियान सञ्चालन गर्ने, जनसम्पर्क विस्तार गर्ने, युवा तथा महिला सहभागिता बढाउने र पार्टीको नीति तथा कार्यक्रमहरूलाई मतदातासमक्ष पुर्‍याउने मुख्य जिम्मेवारी पाएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार अभिषेक प्रताप शाहले लोकतन्त्र, समावेशिता र विकासको एजेन्डालाई मुख्य आधार बनाएर जनताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरे। नेता शाहले शिवराज नगरमा देखिएको कांग्रेसको एकता र कार्यकर्ताको सक्रियताले आसन्न निर्वाचनको नतिजा कांग्रेसको पक्षमा आउने विश्वास समेत व्यक्त गरे।

छलफलमा बोल्दै नेपाली कांग्रेसका जिल्ला उपसभापति हुमाकान्त खनाल, जिल्ला सचिव प्रेमबहादुर सिंह रायमाझी, महासमिति सदस्य बिनोद नेपाल, जमशेर अलि मिया, जिल्ला सदस्य केशव पाण्डे तथा प्रदेश ३ का सभापति गोविन्दबहादुर खत्रीले आ–आफ्नो धारणा राखेका थिए। उनीहरूले निर्वाचन जित्नका लागि सुदृढ संगठन र अनुशासित चुनावी अभियानको आवश्यकता रहेको औंल्याए।

नगर सभापति मधुसुदन पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा नेता राजु बाबू खरालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नगर सचिव विष्णु पोखरेलले गरेका थिए।

भेलामा युवा नेताहरू हरिप्रसाद पोखरेल, रामेश्वर वर्मा, रामबहादुर चौधरी, रिजवान अहमदसहित शिवराज नगरका ११ वटै वडाका वडा सभापतिहरू र सयौं अगुवा नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले एकताबद्ध भएर चुनावी मैदानमा उत्रिने र कांग्रेसलाई जिताउने संकल्प गरेका छन्।

धेरै पढिएको

ताजा समाचार