शिवराज (कपिलवस्तु) ।
नेकपा एमाले कपिलवस्तु क्षेत्र नं। ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार विरेन्द्र कनोडियाले आसन्न निर्वाचन सामान्य चुनाव मात्र नभई राष्ट्रको अस्तित्व र भाग्य निर्धारण गर्ने लडाइँ भएको बताएका छन्। नेकपा एमाले शिवराज वडा नं। ५ को निर्वाचन परिचालन कमिटीको उद्घाटन तथा कार्यालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै कनोडियाले सो कुरा बताएका हुन्। विपक्षीहरूप्रति आक्रामक रूपमा प्रस्तुत हुँदै कनोडियाले भने, २०० वर्ष पहिले बनेको देशको सम्पत्ति जलाएर खरानी बनाउने कार्य कुनै पनि सच्चा नेपालीले गर्न सक्दैनन्। उनले राष्ट्रियताको संरक्षण र देशको विकासका लागि एमालेको जित अपरिहार्य रहेको जिकिर गरे।
कार्यक्रममा बोल्दै नेकपा एमाले कपिलवस्तुका सचिव सी।बी। गहतराजले एमालेका कार्यकर्ताहरूलाई प्रविधिको प्रयोगमा जोड दिन निर्देशन दिए। उनले भने, एमालेका सिपाहीहरूले अब सामाजिक सञ्जालमा बलियो डिजिटल उपस्थिति जनाउनुपर्छ र ‘भोट सूर्यमा’ लेख्दै जनमत सिर्जना गर्नुपर्छ। सचिव गहतराजले विपक्षीहरूको चौतर्फी घेराबन्दी र विरोधका बाबजुद पनि नेकपा एमाले देश निर्माणको दृढ संकल्पसहित अघि बढिरहेको र यो शक्तिलाई कसैले रोक्न नसक्ने दाबी गरे।
कार्यक्रममा नेकपा एमाले शिवराज नगर कमिटी अध्यक्ष महादेव पोखरेलले यस क्षेत्रको विकास र समृद्धिको लागि एमालेको नेतृत्वको विकल्प नभएको बताए। वडा कमिटी अध्यक्ष प्रेम सुनारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारू, क्षेत्र नं। ३ निर्वाचन परिचालन कमिटी संयोजक नेत्रराज अधिकारी लगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा वडा नं। ५ मा एमालेको जित सुनिश्चित गर्न सबै एकजुट भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिएको थियो।



























