नेकपाबाट उम्मेदवार सिफारिस भएका तिम्सिना एमालेमा प्रवेश


उदयपुर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ सिफारिस भएका अर्जुन तिम्सिना नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै तिम्सिनाले नेकपा परित्याग गरी एमालेमा फर्किएको घोषणा गरेका हुन् । उनलाई एमाले प्रदेश सचिवालय सदस्य ईश्वरमणि राउतले पार्टीमा स्वागत गरेका थिए ।

विगतमा ‘जिए कु–उदयपुर’को जिम्मेवारी सम्हालेका तिम्सिनाले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्येनजर गर्दै एमालेमा फर्किएको उल्लेख गरे ।

तिम्सिनाको विज्ञप्तिमा भनिएको छ– ‘जेनजी आन्दोलन पश्चात मुलुक गम्भीर परिस्थितिबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा राष्ट्रियता, संविधानको रक्षा र समृद्धिका लागि नेकपा (एमाले)को आवश्यकता अपरिहार्य महसुस गर्दै म आफ्नो पुरानो घर फर्किएको हुँ ।’

निर्वाचनको मुखमा एमाले प्रवेश गरेका त्रियुगा नगरपालिका वडा नं. १३ निवासी तिम्सिनाले अबको निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी एमालेलाई विजयी गराउन आम मतदाताहरूमा हार्दिक अपिल समेत गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि नेकपाले उनको नाम पहिलो नम्बरमा सिफारिस गरे पनि पद र जिम्मेवारीभन्दा राष्ट्रको हित ठूलो भएको उनको निष्कर्ष छ ।

तिम्सिनाको यो प्रवेशलाई उदयपुरको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

धेरै पढिएको

ताजा समाचार