नेशनल भोलेन्टियर फोर्सको सुदूरपश्चिम प्रदेशस्तरीय भेला सम्पन्न


धनगढी । नेशनल भोलेन्टियर फोर्सको सुदूरपश्चिम प्रदेशस्तरीय भेला तथा युनिफाइड कमान्ड घोषणा कार्यक्रम सम्पन्न भएको छ । संगठनका हेडक्वार्टर सदस्य सागर भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टको प्रमुख आतिथ्यतामा आयोजना गरिएको हो ।

कार्यक्रममा संगठनका केन्द्रीय प्रमुख कमाण्डर पुष्पराज श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित थिए ।

त्यसैगरी, नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कैलाली जिल्ला इञ्चार्ज लीला भण्डारी, प्रदेश कमिटी अध्यक्ष कृष्ण जैशी, कैलाली जिल्ला पार्टी अध्यक्ष यज्ञ ढुङ्गाना लगायत पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरू तथा जनसंगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि लेखराज भट्टले संगठन सुदृढीकरण र अनुशासित स्वयंसेवी परिचालनमार्फत पार्टीको आधार मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले युवा शक्तिलाई संगठित, अनुशासित र उद्देश्यपूर्ण ढंगले परिचालन गर्नु वर्तमान राजनीतिक सन्दर्भमा अझ महत्त्वपूर्ण भएको धारणा व्यक्त गरे ।

विशेष अतिथि पुष्पराज श्रेष्ठले युनिफाइड कमान्ड संरचनाले संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । उनले प्रदेशस्तरबाटै सक्रिय र जिम्मेवार नेतृत्व विकास गर्नुपर्नेमा जोड दिए ।

भेलाले डिबेट चन्द्र कडायत र दिपेन्द्र खड्का सहित ३५ सदस्यीय कमान्ड कमिटी गठन गरेको जनाएको छ। नवगठित कमिटीलाई संगठन विस्तार, प्रशिक्षण, समन्वय र परिचालनको जिम्मेवारी दिइएको छ ।

कार्यक्रमको समापनमा जिम्मेवारी प्राप्त गर्ने सम्पूर्ण सदस्यहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । साथै, भेला सम्पन्न गर्न संयोजन गर्ने प्रदेश पार्टी कमिटीप्रति आभार प्रकट गरिएको आयोजकले जनाएको छ ।

धेरै पढिएको

ताजा समाचार