कपिलवस्तु-३ मा एमाले आक्रामक : शिवराजमा बन्यो २५ सदस्यीय ‘इलेक्सन युथ फोर्स’


कपिलवस्तु ।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कपिलवस्तु क्षेत्र नं. ३ मा नेकपा एमालेले आफ्नो चुनावी अभियानलाई तीव्र पारेको छ। एमालेको पक्षमा जनलहर ल्याउने र नतिजा सुरक्षित गर्ने उद्देश्यसहित राष्ट्रिय युवा संघ नेपाल शिवराज नगर कमिटीले ‘इलेक्सन युथ फोर्स’ गठन गरेको छ।

शिवराज नगरपालिकामा आयोजित एक विशेष भेलाका बीच युवा नेता नारायण सापकोटाको संयोजकत्वमा २५ सदस्यीय ‘इलेक्सन युथ फोर्स’ घोषणा गरिएको हो। नगरका ११ वटै वडा समेटिने गरी निर्माण गरिएको यो फोर्सले एमालेको ‘ब्याकबोन’का रूपमा काम गर्नेछ। संयोजक सापकोटाका अनुसार संगठनलाई टोल–टोलसम्म मजबुत बनाउने र युवाशक्तिलाई स्वयंसेवी रूपमा परिचालन गर्ने मुख्य उद्देश्य राखिएको छ।

‘मिसन जित’ का लागि ४ रणनीति
कार्यक्रममा बोल्दै संयोजक सापकोटाले एमाले उम्मेदवारलाई विजयी गराउन युथ फोर्स ‘युद्धस्तर’ मा खटिने बताए। फोर्सले मुख्यतया ४ वटा रणनीतिमा काम गर्नेछ:
१. घरदैलो र मतदाता भेटघाटलाई आक्रामक बनाउने।
२. टोल–टोलमा रचनात्मक अभियान र छलफल चलाउने।
३. विपक्षीका भ्रम चिर्दै एमालेको पक्षमा जनमत सिर्जना गर्ने।
४. निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र मर्यादित बनाउन ‘वाच डग’ को भूमिका खेल्ने।

भेलामा वक्ताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लोकतन्त्रको महत्त्वपूर्ण अवसर भएको बताउँदै त्यसमा युवाहरूको खबरदारी र सक्रियता अपरिहार्य रहेको औंल्याए। युवाशक्तिको संगठित परिचालनले मात्रै पार्टी संगठन सुदृढ हुने र मतदातासँगको सम्बन्ध जीवन्त रहने विश्वास उनीहरूको थियो।

इलेक्सन युथ फोर्सको गठनसँगै कपिलवस्तु-३ मा एमालेको चुनावी माहोल तातिएको छ। स्थानीय नेता तथा कार्यकर्ताहरूले युवाहरूको यो ऊर्जाशील सहभागिताले निर्वाचन अभियानमा नयाँ गति दिने र एमालेको जित सुनिश्चित गर्ने अपेक्षा गरेका छन्। आयोजकका अनुसार अबका दिनमा घरदैलो अभियान, मतदाता सचेतना र युवा लक्षित संवाद कार्यक्रमलाई थप व्यवस्थित र व्यापक बनाइनेछ।

धेरै पढिएको

ताजा समाचार