कपिलवस्तु ।
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कपिलवस्तु क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार विरेन्द्र कुमार कनौडियाले आफ्नो चुनावी प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन । समृद्ध देश साझा गन्तव्य, सुखी जनता सुदृढ भविष्य भन्ने मूल नारासहित उनले क्षेत्रको भौतिक पूर्वाधार, कृषि, स्वास्थ्य र शिक्षालाई मुख्य प्राथमिकतामा राखेका छन।
पूर्वाधार विकासमा फड्को मार्ने योजना
कनौडियाले कृष्णनगरमा ‘ड्राईपोर्ट’ (सुख्खा बन्दरगाह) निर्माण गर्ने महत्वकांक्षी योजना अघि सारेका छन । साथै, हुलाकी सडकको विस्तार, चन्द्रौटा–मैनार लगायतका स्थानमा पक्की पुल निर्माण र १ हजार क्षमताको आधुनिक सम्मेलन केन्द्र बनाउने प्रतिबद्धता पत्रमा उल्लेख छ। उनले क्षेत्रका विभिन्न सडक सञ्जालको स्तरोन्नति गर्दै यातायातलाई सुगम बनाउने अठोट लिएका छन ।
कृषि र सिँचाईमा विशेष जोड
कृषि प्रधान क्षेत्र भएकाले उहाँले सिँचाईको समस्या समाधानलाई प्राथमिकता दिएका छन। शंकरपुर तालमा जलाशय निर्माण, गड्डाघाट र विभिन्न नदीनालाबाट सिँचाईको प्रबन्ध मिलाउने तथा नदी कटान नियन्त्रण गर्ने उनको योजना छ। साथै, ‘कृषि एम्बुलेन्स’, चिस्यान केन्द्रको स्थापना र मलखादको सहज आपूर्तिको ग्यारेन्टी गरिने प्रतिबद्धता जनाइएको छ।
स्वास्थ्य र शिक्षामा सुधार
एमाले उम्मेदवार कनौडियाले शिवराज अस्पताल बहादुरगञ्जलाई प्रदेश स्तरीय जिल्ला अस्पतालमा स्तरोन्नति गर्ने र सरुवा रोग अस्पताल सञ्चालनमा ल्याउने बताएका छन । शिक्षा तर्फ, मदरसा शिक्षालाई राज्यको मूल प्रवाहमा ल्याउँदै भौतिक पूर्वाधार विकास गर्ने, प्राविधिक शिक्षालय (CTVT) स्थापना गर्ने र सामुदायिक विद्यालयमा डिजिटल प्रविधिको विस्तार गर्ने उनको योजना छ।
युवा स्वरोजगार र सुशासन
वैदेशिक रोजगारबाट फर्केका युवालाई सहुलियत ऋण, सीपमूलक तालिम र खेलकुदको विकास मार्फत युवाहरूलाई देशमै अवसर सिर्जना गर्ने कनौडियाले बताएका छन। साथै, भूमिहीन तथा सुकुम्बासी समस्या समाधान गर्ने र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउँदै सुशासन कायम गर्ने प्रतिबद्धता उहाँले व्यक्त गरेका छन ।
कपिलवस्तुको सन्तुलित र बहुआयामिक विकासका लागि सूर्य चिन्हमा मतदान गर्न उनले सम्पूर्ण मतदाताहरूलाई अपिल गरेका छन ।









