चन्द्रौटामा छात्राहरूका लागि ४५ दिने आत्मरक्षा तालिम सुरु

कपिलवस्तु, चन्द्रौटा — शिवराज नगरपालिका वडा नं. ५ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटाको आयोजना तथा सामाजिक विकास डिभिजन कार्यालय, तौलिहवाको सहयोगमा सामुदायिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत २५ जना छात्राहरूका लागि ४५ दिने आत्मरक्षा तालिमको उद्घाटन गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगर प्रमुख अजय थापाले पछिल्लो समय किशोरीहरू कुलतमा फस्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै सम्पूर्ण छात्रा तथा किशोरीहरूलाई समाजमा उदाहरणीय बन्न आग्रह गर्नुभयो। उहाँले लागुऔषध दुर्व्यसनमा फसेका युवा–युवतीलाई निःशुल्क सुधार गृहमा राख्न नगरपालिका सहयोग गर्न तयार रहेको जानकारी गराउँदै यस्ता घटनाबारे जानकारी गराउन सबैलाई अनुरोध गर्नुभयो।

त्यसैगरी शिक्षा शाखा प्रमुख उपसचिव पूर्ण विश्वकर्माले आत्मरक्षा तालिमले छात्राहरूको चौतर्फी विकासमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो। उहाँले शिवराज नगरपालिकाले किशोरी लक्षित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै अहिलेको अवस्थामा किशोरीहरू पूर्ण रूपमा सुरक्षित नभएको धारणा रहेकोले आत्मरक्षा सीप अत्यन्त आवश्यक रहेको बताउनुभयो।

सामाजिक विकास डिभिजन कार्यालयका प्रमुख पुण्य न्यौपानेले छात्राहरूको समग्र विकासमा आत्मरक्षा तालिमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष जगत पौडेलले कार्यक्रमको समापन गर्दै आत्मरक्षा तालिमले अनुशासित र कुलत रहित समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

तालिममा सरिता बिकले प्रशिक्षण दिइरहनुभएको छ भने कार्यक्रम सञ्चालन गोपाल भाटले गर्नुभएको थियो।


धेरै पढिएको

ताजा समाचार