विद्यालयमै बन्यो बजार: विद्यार्थी बने उद्यमी, पाके सेलरोटी र घुङ्गी

चन्द्रौटा, कपिलवस्तु — शिवराज नगरपालिका–५ स्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको परिसरमा शुक्रबार सामान्य पठनपाठनभन्दा फरक दृश्य देखियो। कतै विद्यार्थी सेलरोटी पकाउँदै थिए, कतै घुङ्गी र थारु परिकार तयार पारिँदै थियो। केही विद्यार्थी ग्राहक बनेर परिकारको स्वाद लिइरहेका थिए भने केही बिक्रीमा व्यस्त थिए। एक दिनका लागि विद्यालय परिसर नै सानो बजारमा परिणत भएको थियो।
विद्यालयमा सञ्चालित ‘विद्यार्थीलाई कामको संसार चिनाउने कार्यक्रम’ अन्तर्गत विद्यार्थीहरूले विभिन्न स्थानीय तथा परम्परागत परिकार तयार गरी बिक्री वितरण गरेका हुन्। उद्यमशीलता चुनौती परियोजनाअन्तर्गत आयोजित कार्यक्रममार्फत विद्यार्थीलाई व्यवसाय सञ्चालन, बजार व्यवस्थापन, ग्राहक सेवा र उद्यमशीलताबारे व्यवहारिक अनुभव दिलाउने प्रयास गरिएको विद्यालयले जनाएको छ।
विद्यार्थीहरूले समूह बनाएर सेलरोटी, घुङ्गी, थारु परिकार, विभिन्न अचार तथा रोटीका परिकार तयार गरेका थिए। तराई–मधेस क्षेत्रमा लोकप्रिय घुङ्गीको स्टलमा विशेष आकर्षण देखिन्थ्यो। आफ्नै हातले बनाएका परिकार बिक्री गर्न पाउँदा उत्साहित देखिएका विद्यार्थीहरूले ग्राहकसँग मूल्य निर्धारण, हिसाबकिताब र सेवा प्रवाहको अभ्याससमेत गरेका थिए।
कार्यक्रमको अवलोकन गर्दै शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी चौधरीले विद्यालय शिक्षालाई सीप र उद्यमशीलतासँग जोड्न आवश्यक रहेको बताइन्। कपिलवस्तु व्यापार संघका अध्यक्ष महादेव पोखरेल तथा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर प्रसाद पाण्डेले यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मनिर्भर सोचको विकास गर्ने धारणा राखे।
कार्यक्रममा शिवराज नगरपालिकाको शिक्षा शाखाका दिनेश चौधरी, देविराम रावत , रोजगार शाखा प्रमुख   कल्पना पोखरेल लगायतको उपस्थिति रहेको थियो।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष विपना पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक प्रकाश अधिकारी, शिक्षक सिताराम चौधरी लगायतले व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए।
‘हामी गर्छौं हाम्रै लागि, कामको सम्मान हाम्रो अभियान’ नारासहित सञ्चालन गरिएको कार्यक्रमले विद्यार्थीहरूलाई कामको संसार, श्रमको सम्मान र उद्यमशीलताको व्यवहारिक ज्ञान दिलाएको सहभागीहरूले बताएका छन्।

धेरै पढिएको

ताजा समाचार