जेठ ०७ गते/ घनश्याम भर
कपिलवस्तुको विजयनगर गाउँपालिकाले मदरसाहरुलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेको छ । पालिकाभित्र रहेका १८ ओटा धार्मिक विद्यालय मदरसाहरुलाई मंगलबार उक्त सामग्री वितरण गरिएको हो । खेलकुदको माध्यमबाट मदरसामा अध्ययनरत विद्यार्थीलाई शिक्षामा थप उत्प्रेरणा दिने उद्देश्यले शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको गाउँपालिका शिक्षा शाखाका प्रमुख हरिहर बेल्बासेले जानकारी दिए ।
गाउँपालिकाले मदरसाहरुलाई भलिबल १ थान, भलिबल नेट १ थान, ब्याडमिन्टन १ सेट, क्रिकेट बल २ थान, क्रिकेट ब्याट २ थान, क्रिकेट स्टम्प १ सेट, स्किपिङ २ थान, ब्याडमिन्टन कक १ रोल, अल इन वन किताब २ थान, ब्लक सेट २ थान, नेपाली वर्णमाला २ थान, अंग्रेजी राइमस् २ थान, गुणन तालिका १ थान र अंक तालिका १ थान उपलब्ध गराइएको उनले जनाए ।
गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले मदरसा शिक्षालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । उनले कोही पनि विद्यार्थी शिक्षाबाट वञ्चित नहुने गरी शतप्रतिशत बालबालिकालाई अनिवार्य रुपमा मदरसामा भर्ना गरेर पठनपाठनका क्रियाकलापलाई अगाडी बढाउनुपर्ने जिकिर गरे । उनले धार्मिक किताबको साथै सरकारले मदरसामा अनिवार्य गरेका विषयहरुलाई अझै बढी महत्त्व दिई अध्ययनअध्यापनमा जोड दिन आग्रहसमेत गरे ।
मदरसामा शैक्षिक सुधार र गुणस्तरीयताका लागि मौलाना, अभिभावक र व्यवस्थापन समितिले पनि चाँसोे राख्न आवश्यक रहेको उनले बताए । गाउँपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै गाउँपालिकाबाट उपलब्ध हुने हरेक सेवा सुविधा, माग र आवश्यकतालाई महसुस गरेको हुँदा आवश्यकता अनुसारको बजेट विनियोजन गर्दै जाने अध्यक्ष थापाले प्रतिबद्धतासमेत जनाए ।
यस्तै गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले परम्परागत भन्दा आधुनिक शैक्षिक सिकाई शैलीमा जोड दिइन् । वार्षिक, मासिक र दैनिक समय तालिम अनुसार विद्यार्थीको पठनपाठनमा लाग्नुपर्ने उनले बताइन् । कार्ययोजना नहुँदा शैक्षिक नतिजा कमजोर देखिएको बताउँदै गुणस्तरीय र प्रभावकारीताका लागि अनुगमन कार्यलाई निरन्तरता दिने उपाध्यक्ष चौधरीको भनाइ छ ।
कार्यक्रमलाई शिक्षा शाखाका प्रमुुख हरिहर बेल्बासे, शिक्षा समितिका सदस्य विजय कुमार चौधरीले सम्बोधन गरेका थिए । शैक्षिक तथा खेलकुद सामग्री वितरण कार्यक्रममा शिक्षा समितिका सदस्य हरिनारायण चौधरी, राम कुमार रिजाल, मदरसा व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकहरुको उपस्थिति थियोे ।









