कपिलवस्तु, — जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगञ्ज नगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बुधबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।
निमित्त प्रमुख जिल्ला अधिकारी भविष्य घिमिरेद्वारा जारी आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ। प्रशासनले तोकिएको क्षेत्रमा कुनै पनि प्रकारको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाएको जनाएको छ।
प्रशासनका अनुसार निषेधाज्ञा लागू गरिएको क्षेत्रको सिमाना पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौना तोकिएको छ।
जिल्ला प्रशासन कार्यालयले जारी आदेशको उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
प्रशासनले स्थानीय बासिन्दा तथा सरोकारवालालाई आदेशको पालना गर्न आग्रह गरेको छ।










