दुर्गेश नन्दनीमा कुर्मीलाई पद हस्तान्तरण गर्दै रायमाझी

चन्द्रौटा, कपिलवस्तु ।

शिक्षा ऐनमा गरिएको संशोधन कार्यान्वयन गर्दै शिवराज नगरपालिकाले विद्यालय व्यवस्थापन समितिको पुनर्गठन प्रक्रिया अगाडि बढाएको छ। बैशाख २२ गते सूचना प्रकाशित गर्दै नगरपालिकाले “केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३” अनुसार शिक्षा ऐन २०२८ को दफा १२ उपदफा (१) को खण्ड (ग) खारेज भएसँगै सो आधारमा मनोनित सदस्यहरू स्वतः पदमुक्त हुने व्यवस्था लागू भएको जनाएको हो।

सोही कानुनी प्रावधानअनुसार नगरपालिकाअन्तर्गत रहेका सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयहरूमा विद्यालय व्यवस्थापन समिति गठन तथा पुनर्गठन गर्न निर्देशन दिइएको थियो। उक्त निर्देशनअनुसार शिवराज नगरपालिका–११, बड्की थुन्हियास्थित श्री दुर्गेश नन्दनी आधारभूत विद्यालयले विद्यालय व्यवस्थापन समिति पुनर्गठन गरेको छ।

श्री दुर्गेश नन्दनी आधारभूत विद्यालयको अध्यक्षमा शिव गोबिन्द कुर्मी चयन भएका छन्। नयाँ प्रावधानअनुसार गठित यो विधालय शिवराज नगरपालिकाभित्र सुशासनतर्फ दोस्रो स्थानमा विद्यालय ब्यवस्थापन समिति गठन गरिएको छ ।

विद्यालयका प्रधानाध्यापक कृष्णमुरारी चौधरीले नयाँ नेतृत्व चयनसँगै विद्यालयको शैक्षिक गुणस्तर, अनुशासन तथा विद्यार्थीको सिकाइ उपलब्धि अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्। उहाँले विद्यालय विकासका लागि अभिभावक, शिक्षक र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

निवर्तमान अध्यक्ष शारदा रायमाझीले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै विद्यालयको समग्र विकासमा निरन्तर सहयोग रहने बताएकी छन्। उहाँले आफ्नो कार्यकालमा विद्यालयको भौतिक पूर्वाधार सुधार, अभिभावक सहभागिता वृद्धि तथा शैक्षिक वातावरण सुदृढीकरणका लागि भएका प्रयासहरूको स्मरण समेत गर्नुभयो।

नवनिर्वाचित अध्यक्ष शिव गोबिन्द कुर्मीले विद्यालयलाई गुणस्तरीय, प्रविधिमैत्री तथा बालमैत्री शिक्षालयका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। विद्यालयमा नियमित अनुगमन, शिक्षक–अभिभावक समन्वय, विद्यार्थीको सिकाइ उपलब्धि सुधार, सरसफाइ तथा अतिरिक्त क्रियाकलापलाई प्राथमिकतामा राख्दै समुदायको विश्वास जित्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

धेरै पढिएको

ताजा समाचार