आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत बजेट अन्तर्गत शिवराज नगरपालिका वडा नं. १० ले स्नातक (ब्याचलर) तहमा अध्ययनरत १० जना विद्यार्थीलाई प्रतिव्यक्ति रु. २० हजारका दरले छात्रवृत्ति प्रदान गरेको छ। यसका लागि वडाले कुल रु. २ लाख बजेट विनियोजन गरेको जनाएको छ।
वडा अध्यक्ष मञ्जु मिश्राको पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममार्फत उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक सहयोग उपलब्ध गराइएको हो। अध्यक्ष मिश्राले शिक्षा तथा महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्दै आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित नहोस् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको बताउनुभयो।
छात्रवृत्ति प्राप्त गरेपछि अध्ययनलाई निरन्तरता दिन सहज भएको लाभग्राही लक्ष्मी पासीले बताउनुभयो। उहाँले आर्थिक अभावका कारण उच्च शिक्षामा विभिन्न चुनौती सामना गर्नुपरे पनि वडाबाट प्राप्त छात्रवृत्तिले शैक्षिक खर्च व्यवस्थापन गर्न ठूलो सहयोग पुगेको उल्लेख गर्नुभयो। साथै, यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई उच्च शिक्षा हासिल गर्न थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो।
छात्रवृत्ति प्राप्त गर्नेहरूमा अञ्जनी चौधरी, कमलावती कुर्मी, चन्द्रावती पासी, प्रमिला नौ, पवित्रा कोहार, बन्धना देवी कुर्मी, रुपेश यादव, राजकुमार नौ ठाकुर, लक्ष्मी पासी र सपना गुप्ता रहेका छन्। उनीहरूलाई प्रतिव्यक्ति रु. २० हजारका दरले रकम उपलब्ध गराइएको हो।
स्थानीय अभिभावक तथा सरोकारवालाहरूले वडाको यस पहलको प्रशंसा गर्दै शिक्षा क्षेत्रमा गरिएको लगानीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।
किशोरी तथा युवाहरूको उच्च शिक्षामा पहुँच विस्तार गर्न वडा नं. १० ले आफ्नै बजेटबाट सञ्चालन गरेको यो कार्यक्रम स्थानीय तहमा शिक्षा प्रवर्द्धन र महिला सशक्तीकरणको उदाहरणीय प्रयासका रूपमा हेरिएको छ। वडा अध्यक्ष मिश्राले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।









