श्रमिकहरूको समस्यालाई लिएर छिट्टै शिवराज नगरपालिकाले कानुन निर्माण गर्ने : नगर प्रमुख अजय थापा

कपिलवस्तु, साउन ११।

श्रमिकहरूको समस्यालाई लिएर छिट्टै नगरपालिकाले कानुन निर्माण गर्ने शिवराज नगर प्रमुख अजय थापाले बताउनु भएको छ । न्युनत ज्याला, विमा, कार्यस्थलमा सुरक्षा लगाएतको विषयमा शिवराज नगरपालिका गम्भिर भएको नगर प्रमुख थापाले बताउनुभएको हो ।

नागरिक मञ्चको आयोजनामा तथा सिद्धार्थ सामाजिक विकास केन्द्र (SSDC), कपिलवस्तुको सहजीकरणमा श्रमिकहरूको अवस्था सम्बन्धी अध्ययनको निष्कर्ष सार्वजनिक गर्दै स्थानीय सरकारसँग संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय जनप्रतिनिधि, सरोकारवाला, नागरिक समाजका अगुवाहरूको सहभागिता संचालित कार्यक्रममा श्रमिकहरूले पेटि ठेकेदार मार्फत काम गर्नुपर्ने भएकोले विभिन्न समस्या, विभेद, हिंसामा पर्नुपरेको कार्यक्रम संयोजक अजय चौधरीले बताउनुभएको छ । श्रम अधिकारको वर्तमान अवस्था, श्रमिकहरूले भोगिरहेका समस्या तथा अध्ययनबाट प्राप्त मुख्य निष्कर्षबारे साहयक कार्यक्रम अधिकृत संजिव गहतराजले  प्रस्तुतिकरण गर्नुभएको थियो ।

कार्यक्रममा अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा स्थानीय तहले श्रमिकमैत्री नीति, योजना तथा कार्यक्रम निर्माणमा थप सक्रिय भूमिका निर्वाह गर्नुपर्ने अधिकार कर्मि मिना परियार, श्रम अभियान्ता यशोदा नेपाली लगाएतले जोड दिइएको थियो।

सहभागीहरूले श्रमिकको हकहित संरक्षण, सुरक्षित रोजगारी, सामाजिक सुरक्षा तथा श्रम अधिकारको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकार र सरोकारवालाबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

नागरिक मञ्चका संयोजक थानेश्वर खनालको अध्यक्षतामा संचालित कार्यक्रमको स्वागत मनतब्य मणिराम उपाध्यायले गर्नुभयो भने विपना भुषालको कार्यक्रम संचालनमा सम्पन्न भएको थियो ।

धेरै पढिएको

ताजा समाचार