धनगढी -दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पहिरोमा परी ८ जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलका अनुसार शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्याएको छ । अहिलेसम्म ५ जनाको शव भेटिएको, १० जना बेपत्ता रहेको र ८ जना घाइते भएका छन् । घाइतेमध्य ५ जनाको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका-२ मुल्लाका ७७ वर्षका नन्दराम बोहरा, वडा नम्बर २ दल्लेखका ६८ वर्षका मोहन राम पार्की, महाकाली नगरपालिका-३ कि ३५ वर्षकी मानमति कार्की, नौगाड गाउँपालिका-१ सल्लाकी ३२ वर्षकी जानकी ठगुन्ना र नौगाड गाउँपालिका-१ कि १५ वर्षकी धनुली ठगुन्ना रहेका छन् ।
पहिरोमा परी घाइते भएका ८ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । पहिरोमा परी ५ वटा जिप, एउटा कार र एउटा ट्याक्टर पनि हराएको छ ।
बाढीले महाकाली नगरपालिकाको लास्कु क्षेत्रका ४, बांगाबगर क्षेत्रका ११ घर र दशरथनगर आधारभूत विद्यालय पूर्णरुपमा क्षति भएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतले खोज तथा उद्धार गरिरहेका छन् ।
पहिरोले महाकालीमा भन्दा नौगाडमा बढी क्षति पुगेको प्रहरीले जनाएको छ ।