
२५ फागुन, काठमाडौं ।
पोखराबाट काठमाडौं आइपुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादी समर्थकहरूले स्वागत गरेका छन ।
विमानस्थलको मुख्य गेटमा जम्मा भएका समर्थकहरूले “फस्ट नेपाल, फस्ट नेपाली, अब बन्छ नेपाल” जस्ता नारा लगाएका थिए । पूर्वराजाको समर्थनमा नारा लगाएका समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध पनि नाराबाजी गरेका हुन ।
पूर्वराजालाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित ठूलो संख्यामा समर्थकहरू विमानस्थलको मुख्यद्वारमा भेला भएका थिए ।