कपिलवस्तु, — कपिलवस्तुको शिवराज नगरपालिका–८ विश्वनपुर पत्थर दैया देखि पकडी तर्फ लाँदै गरेको अवैध रूपमा ओसारपसार गरिँदै गरिएका ३ हजार ४ सय चल्ला प्रहरीले बरामद गरी नष्ट गरेको छ। भारतबाट भन्सार तथा क्वारेन्टाइन प्रक्रिया पूरा नगरी नेपाल भित्र्याइएका ती चल्ला नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
वडा प्रहरी कार्यालय चन्द्रौटाका अनुसार दया पुल नजिक नियमित चेकजाँचका क्रममा शंकास्पद रूपमा ल्याइँदै गरिएका चल्ला बरामद गरिएको हो। इन्डियन नम्बर प्लेट भएका यूपी–४७४८ र यूपी–५५ एपी–६१०९ तथा नेपाली नम्बर लु १२ प ७०३७ नम्बरको मोटरसाइकलमार्फत चल्ला ओसारपसार भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
अवैध चल्ला ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी चौकी वीरपुरका प्रहरी नायब निरीक्षक उदय डाँगीसहित वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोली तथा सादा पोशाकका सुरक्षाकर्मीहरूले संयुक्त रूपमा निगरानी बढाएका थिए। सोही क्रममा दया पुल क्षेत्रमा गरिएको चेकजाँचका बेला चल्ला फेला परेका हुन्।
प्रहरीका अनुसार बरामद गरिएका चल्लाको अनुमानित मूल्य करिब ५ लाख रुपैयाँ बराबर रहेको छ। आवश्यक स्वास्थ्य परीक्षण, भन्सार प्रक्रिया तथा कानुनी मापदण्ड पूरा नगरी ल्याइएका यस्ता चल्लाले पशुपन्छीजन्य रोग फैलाउने जोखिम रहने भएकाले नियन्त्रणमा लिएर नष्ट गरिएको जनाइएको छ।
बरामद चल्ला कृष्णनगर क्वारेन्टाइन कार्यालयका पशु चिकित्सक डा. दयाराम चौधरी, वडा कार्यालयका जनप्रतिनिधि, स्थानीय सरोकारवाला तथा सुरक्षाकर्मीहरूको रोहबरमा नष्ट गरिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।
प्रहरीले पछिल्लो समय भारतबाट विभिन्न नाकाहरू हुँदै अवैध रूपमा चल्ला, कुखुरा तथा अन्य पशुपन्छीजन्य सामग्री नेपाल भित्र्याउने प्रयास बढ्दै गएको भन्दै सीमावर्ती क्षेत्रमा निगरानी कडा बनाइएको जनाएको छ। यस्ता अवैध गतिविधिले स्थानीय कृषक तथा व्यवसायीलाई प्रत्यक्ष असर पार्नुका साथै पशु स्वास्थ्यमा समेत गम्भीर जोखिम निम्त्याउने भएकाले नियन्त्रण अभियानलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।
स्थानीय प्रशासनले पनि पशुपन्छी तथा कृषि क्षेत्रसँग सम्बन्धित सामग्री आयात गर्दा अनिवार्य रूपमा कानुनी प्रक्रिया पूरा गर्न र अवैध ओसारपसार नगर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।









