कपिलवस्तु ।
शिवराज नगरपालिका–५ चन्द्रौटा स्थित सामुदायिक रेडियो भ्वाईसको आयोजनामा साईबर अपराध सम्बन्धी दुई दिने सचेतना तालिम सम्पन्न भएको छ । परिवर्तन संचार गृहद्वारा संचालित सामुदायिक रेडियो भ्वाईसले असार ६ र ७ गते चन्द्रौटाको दुर्गा मन्दिर परिसरमा उक्त तालिमको आयोजना गरेको हो ।
तालिमको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै शिवराज नगरपालिकाका वडा अध्यक्ष नेत्र प्रसाद बेल्वासेले बढ्दो प्रविधिको प्रयोगको युगमा साईबर सुरक्षाको महत्व अत्यधिक रहेको बताए । उनले भने, आजको डिजिटल युगमा साईबर अपराधका घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन् । यस्तो अवस्थामा सबैले मन लगाएर साईबर सुरक्षाका विषयमा सिक्न जरुरी छ । उनले यस्ता तालिमले समुदायलाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यसैगरी रेडियो भ्वाईसका पूर्व अध्यक्ष टुक प्रसाद अर्यालले रेडियो भ्वाईसले सामाजिक जनचेतनाका लागि यस्ता तालिम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले रेडियोले समुदायको आवाज बन्दै सामाजिक रूपान्तरणका लागि निरन्तर कार्य गरिरहेको जानकारी दिए ।
रेडियो भ्वाईसकी स्टेशन म्यानेजर गीता पौडेलले सञ्चालन गरेको उक्त उद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका सचिव संजीव गहतराजले गरेका थिए । अध्यक्षीय मन्तव्यमा गहतराजले तालिमका उद्देश्य र महत्वबारे प्रकाश पार्दै सहभागीहरूलाई प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे ।
दुई दिने तालिममा सामाजिक सञ्जालको दुरुपयोग, अनलाइन ठगी, व्यक्तिगत सूचनाको संरक्षण, साईबर अपराधबाट बच्ने उपाय तथा अपराध भएमा कहाँ उजुरी गर्ने लगायतका विषयमा सहभागीलाई व्यावहारिक जानकारी दिइएको थियो ।
उक्त तालिमलाई शिवराज नगरपालिका वडा नं। ५ वडा कार्यालय चन्द्रौटाले सहयोग पुर्याएको थियो । तालिममा स्थानीय ब्यक्ति सामाजिक अभियन्ता तथा समुदायका विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।









