कपिलवस्तु — लोकपप गीत ‘ए साइली’ यतिबेला सामाजिक सञ्जालमा चर्चाको केन्द्र बनेको छ। सार्वजनिक भएको केही समयमै टिकटकमा व्यापक रूपमा प्रयोग हुन थालेको गीतले युट्युबमा पनि उल्लेखनीय दर्शक पाएको छ। गीतको लोकप्रियतासँगै यसका निर्देशक विकास पुन मगर को कामसमेत चर्चामा आएको छ।
नेपाली लोकसंगीतको मौलिक स्वादलाई आधुनिक दृश्य भाषासँग जोड्ने प्रयासस्वरूप निर्माण गरिएको ‘ए साइली’ लाई दर्शकले रुचाएका छन्। गीतका शब्द, संगीत र स्वर हिमाल घर्ती मगर का हुन्। तर गीतको सफलतामा भिडियोको प्रस्तुति र कथावाचन शैलीले पनि उत्तिकै भूमिका खेलेको चर्चा संगीतवृत्तमा छ।
करिब चार दर्जन म्युजिक भिडियो तथा केही सर्ट फिल्म निर्देशन गरिसकेका विकास पुन पछिल्ला वर्षहरूमा लोक तथा लोकपप संगीतका भिडियोमार्फत आफ्नो अलग पहिचान बनाउन सक्रिय छन्। ग्रामीण परिवेश, प्रेमका भाव र समाजका सरल कथालाई दृश्यात्मक रूपमा प्रस्तुत गर्ने उनको शैली ‘ए साइली’ मा पनि देखिन्छ। गीतको कथालाई अनावश्यक तडकभडकभन्दा भावनात्मक प्रवाहमा अघि बढाइएको छ, जसले दर्शकलाई आकर्षित गरेको देखिन्छ।
भिडियोमा करण शाही र प्रिती गुरुङ ले अभिनय गरेका छन्। उनीहरूको अभिनयलाई निर्देशक पुनले गीतको भावसँग मेल खाने गरी प्रस्तुत गरेका छन्। छायांकन गणेश सापकोटा को रहेको भिडियोमा सम्पादन तथा कलर ग्रेडिङ राकेश दाहाल ले गरेका छन्।
लोकसंगीतमा पछिल्ला वर्षहरूमा गीतभन्दा बढी दृश्य प्रस्तुति प्रभावशाली बन्न थालेको अवस्थामा ‘ए साइली’ ले संगीत र दृश्य दुवै पक्षको सन्तुलन कायम गर्ने प्रयास गरेको देखिन्छ। यही कारण गीत सार्वजनिक भएलगत्तै टिकटक प्रयोगकर्ताले भिडियो बनाउन थालेका छन् भने युट्युबमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।
निर्देशक विकास पुनका लागि ‘ए साइली’ अर्को सफल परियोजनाका रूपमा देखिएको छ। चार दर्जन हाराहारीका भिडियो निर्देशन गरिसकेका उनले यस गीतमार्फत आफूलाई केवल प्राविधिक निर्देशक नभई कथावस्तुलाई दृश्यमा रूपान्तरण गर्न सक्ने सिर्जनशील निर्देशकका रूपमा पुनः स्थापित गर्ने संकेत दिएका छन्। लोकपप संगीतमा बढ्दो प्रतिस्पर्धाबीच ‘ए साइली’ को सफलताले पुनको निर्देशन यात्रालाई थप उचाइ दिने अपेक्षा गरिएको छ।









