माघ १५, शिवराज (कपिलवस्तु)
शिवराज नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोग तथा सामुदायिक रेडियो भ्वाइसको समन्वयमा आयोजित चारदिने उद्घोषक (एमसी) तालिम सफलतापूर्वक सम्पन्न भएको छ।
माघ १२ गतेदेखि सुरु भएको तालिम माघ १५ गते औपचारिक रूपमा समापन गरिएको हो। तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा वडा नम्बर ४ का वडा अध्यक्ष नसिम अहमद खाँले चार दिनको छोटो अवधिमै सहभागीहरूमा उल्लेखनीय परिवर्तन देखिएको बताउनुभयो।
“चार दिनमध्ये तीन दिन शुद्ध अभ्यासमै केन्द्रित गरिएको थियो, जसको सकारात्मक प्रभाव स्पष्ट देखिएको छ,” उहाँले भन्नुभयो, “अब वडामा आयोजना हुने विभिन्न कार्यक्रमहरू यही तालिमका सहभागीहरूले सञ्चालन गर्न सक्नेमा म पूर्ण रूपमा ढुक्क छु।”
वडामा हुने कार्यक्रम सञ्चालनका लागि बाहिरका व्यक्तिमाथि निर्भर हुनुपर्दा कठिनाइ हुने भएकाले जनप्रतिनिधि, वडा सचिव, सहकारी संस्थामा आबद्ध व्यक्तिहरू तथा इच्छुक समुदायका सदस्यहरूलाई लक्षित गरी तालिम आयोजना गरिएको वडा अध्यक्ष खाँले जानकारी दिनुभयो। उहाँले अब वडा सचिव आफैंले पनि वडाका कार्यक्रम सञ्चालन गर्न सक्ने अवस्थामा पुग्नु भएको उल्लेख गर्नुभयो।
तालिममा गीता पौडेल, पत्रकार माधव बेल्बासे, दीपक खड्का र विष्णु भुसालले प्रशिक्षकको रूपमा प्रशिक्षण दिनुभएको थियो। तालिममा उद्घोषक भनेको के हो, उद्घोषकका गुणहरू, माइक फेस गर्ने तरिका, औपचारिक कार्यक्रमको तालिका तयार गर्ने विधि, कार्यक्रम सञ्चालनका सीप, प्रभावकारी भाषण कला लगायतका विषयमा केन्द्रित रहेर प्रशिक्षण प्रदान गरिएको थियो। सहभागीहरूलाई पालैपालो कार्यक्रम सञ्चालनको अभ्यास पनि गराइएको थियो।
तालिममा सहभागी रितु कार्कीले अब साना–ठूला कार्यक्रम आफैं सञ्चालन गर्न सक्ने आत्मविश्वास बढेको भन्दै खुशी व्यक्त गर्नुभयो। त्यस्तै अर्की सहभागी कृष्णा पौडेलले स्वयंसेविकाको रूपमा विभिन्न कार्यक्रममा बोल्नुपर्ने अवस्था आए पनि आत्मविश्वासको कमीले असहज महसुस हुने गरेको बताउँदै, चार दिनको तालिमपछि आफू कार्यक्रम सञ्चालन गर्न सक्षम भएको भन्दै खुशी व्यक्त गर्नुभयो।
प्रशिक्षक माधव बेल्बासेले शुभकामना मन्तव्य राख्दै उद्घोषण कला निरन्तर अभ्यासबाट मात्र निखारिने बताउनुभयो। “पटक–पटक अभ्यास नगरी राम्रो कार्यक्रम सञ्चालन सम्भव हुँदैन,” उहाँले जोड दिनुभयो।
कार्यक्रममा गीता पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने वडा अध्यक्ष नसिम अहमद खाँको प्रमुख आतिथ्य, सामुदायिक रेडियो भ्वाइसका सचिव सञ्जिव गहतराजको अध्यक्षता तथा वडा सचिव साबित्री थारुको सञ्चालनमा समापन कार्यक्रम सम्पन्न भएको थियो।











