कपिलवस्तु ।
बालविवाह अन्त्य, कानुनी कागजात प्राप्ति तथा उच्च शिक्षाको सुनिश्चितताको माग गर्दै कपिलवस्तुको शिवराज नगरपालिकामा ‘किशोर किशोरी अधिकार अभियान’ सञ्चालन गरिएको छ।
शिवराज नगरपालिका वडा नं. १० इस्लामनगरमा आयोजना गरिएको यस सचेतनामूलक र्याली तथा अभियानमा स्थानीय किशोर किशोरीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले बालविवाह रोक्न र शिक्षा तथा कानुनी अधिकारको पहुँच ग्यारेन्टी गर्न विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए।

उक्त कार्यक्रम युवा कचहरी, शिवराज नगरपालिका (कपिलवस्तु) को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमलाई सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु ले सहकार्य गरेको थियो भने एक्सन एड (ActionAid) ले सहयोग पुर्याएको थियो।
कार्यक्रमका आयोजकहरूका अनुसार किशोर किशोरीहरूलाई उनीहरूको हक अधिकारप्रति सचेत गराउँदै समाजमा विद्यमान बालविवाहजस्ता कुरीति अन्त्य गर्न र सबैका लागि उच्च शिक्षाको अवसर सुनिश्चित गराउन यो अभियान सञ्चालन गरिएको हो।








